काठमाडौं । काठमाडौं विश्वविद्यालयमा कार्यरत डा. राम लामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद भएपछि रिक्त भएको पदमा उनकै जुम्ल्याहा भाइलाई नियुक्ती दिइएको छ ।
केयूको कार्यकारी परिषदले चार दिनअघि रामका भाइ लक्ष्मण लामालाई ‘एकेडेमिया इन्डष्ट्री कोअर्डिनेटर’ मा नियुक्त गरेको हो ।
राम लामा बालेनको कोटाबाट रास्वपाको बन्दसूचीमा परेका थिए । आदिवासी–जनजातिको क्लस्टरमा पहिलो नम्बरमा रहेका उनी सहजै समानुपातिक सांसद निर्वाचित भए । रास्वपाले ९ जना पुरुष उम्मेदवारलाई समानुपातिक सांसद बनाउँदा उनी त्यसमा अटाएका हुन् । केयूबाटै पीएचडी गरिरहेका बालेनलाई विभिन्न सहयोग गरेवापत लामालाई बन्दसूचीमा स्थान दिइएको समाचार नेपाल प्रेसले प्रकाशित गरेको थियो ।
लामाले रास्वपाको बन्दसूचीमा पहिलो प्राथमिकतामा परेसँगै केयूबाट राजीनामा दिएका थिए । त्यसयता ‘एकेडेमिया इन्डष्ट्री कोअर्डिनेटर’ पद खाली थियो । सो पदमा आफ्नो जुम्ल्याहा भाइ नियुक्त भएपछि रामले फेसबुकबाटै बधाइ दिएका छन् । लक्ष्मणले यो पद पूर्णरुपमा ‘डिजर्भ’ गर्ने उनको दाबी छ ।
लक्ष्मण लामा केयूमै पीएचडीका विद्यार्थी हुन् । उनले वातावरणीय इन्जिनियरिङमा मास्टर्स गरेका छन् । सिनियरलाई पन्छाएर विद्यार्थीलाई उच्च पदमा नियुक्त गरिएको विषयले विश्वविद्यालयभित्र बहस र विवाद सिर्जना गरेको छ । भावि प्रधानमन्त्री बालेनसँग सुमधुर सम्वन्ध रहेकै कारण उनलाई यो नियुक्ती दिइएको हुन सक्ने आशंका कतिपयले गरेका छन् ।
केयूको कार्यकारी परिषदले एकै दिन राजनीतिक भागबण्डाका आधारमा तीन पदाधिकारी नियुक्त गरेको थियो । कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संगठनको केयू सभापति भोपाल गोविन्द श्रेष्ठलाई एसोसिएट डिन बनाइएको छ । गत प्रतिनिधिसभा चुनावको दुई दिनअघि उनले आफ्नो फेसबुकमा ‘सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता सुजेन्द्र तामाङलाई मतदान गर्न जानुहुने भए सम्पर्क गर्नुहोला’ भन्दै स्टाटस लेखेका थिए । चुनाव सकिएलगत्तै उनलाई एसोसिएट डिन बनाइएको हो ।
यस्तै, कम्युनिटी ईंगेजमेन्ट निर्देशक पदमा एमालेनिकट नानी रावतलाई जुनियर महिलालाई नियुक्त गरिएको छ । उनी निकै जुनियर व्यक्ति हुन् । केयूमा उपप्रध्यापकबाट सहप्राध्यापकमा बढुवा भएको भोलिपल्टै उनलाई निर्देशक बनाइएको हो । नानीका दाइ २०७९ सालको स्थानीय चुनावमा चन्द्रागिरीको मेयरमा उठेर हारेका थिए ।
लक्ष्मण लामा कम्युनिष्ट पृष्ठभूमिका भए पनि अहिले रास्वपानिकट छन् । गत प्रतिनिधिसभा निर्वाचनमा उनी घन्टीको प्रचारप्रचारमा खुलेरै हिँडेका थिए । राम–लक्ष्मण दाजुभाइको पूर्वउर्जामन्त्री कुलमान घिसिङसँग पनि राम्रो सम्वन्ध थियो । उनीहरुले आफूहरुलाई कुलमानको भान्जा भन्ने गर्थे । तर आफ्नो नाम भजाएर विभिन्न ठाउँमा नाजायज लाभ लिन खोजेको भन्दै पछिल्लो समय कुलमान उनीहरुसँग असन्तुष्ट बनेका छन् ।
केयूको कार्यकारी परिषदमा उपकुलपति, रजिस्टार, दुईजना डिन र एक शिक्षक प्रतिनिधिसहित ५ जना हुन्छन् । त्यसमध्ये अहिले रजिस्टार एमाले हुन् भने बाँकी चार जना कांग्रेसनिकट मानिन्छन् । उपकुलपति डा. अच्युत वाग्ले स्वयम् परिचित कांग्रेसी हुन् ।
उनले सार्वजनिक कार्यक्रममा नै ‘कांग्रेसभित्र डा. रामशरण महतपछिको अर्थविद मै थिएँ, राजनीति गरिरहेको भए कांग्रेसबाट अर्थमन्त्री भइसक्थेँ भन्ने गर्छन् ।








































