रुपन्देही । अस्वस्थ खानपान, व्यस्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षणको कमीका कारण पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै गएको छ । विश्व मिर्गौला दिवस मनाइँदै गर्दा विज्ञहरूले मिर्गौला रोगबाट बच्न सचेत जीवनशैली अपनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रारम्भिक अवस्थामै रोग पत्ता लागे उपचार सजिलो हुने र त्यसैले सबैले कम्तीमा वर्षमा एक पटक स्वास्थ्य जाँच गराउन विज्ञहरूको सुझाव छ । अत्यधिक नुनिलो, बोसोयुक्त र प्रशोधित खानेकुरा सेवन, पानी कम पिउने बानी तथा मधुमेह र उच्च रक्तचापको नियन्त्रण नगर्नु मिर्गौला रोग बढ्ने मुख्य कारण भएको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. रजत कायस्थ बताउँछन् ।
दैनिक व्यायामलाई नियमित तथा चिल्लो र गुलियोलाई कम गरेर ध्रूमपान, मद्यपान, गुट्कापान, सुर्तीपान र हुक्कापान जस्ता ५ वटा पानबाट अलग रहन सके ८० प्रतिशत मिर्गौला र मुटुरोगबाट सुरक्षित रहन सक्ने जानकारी वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समीर गौतमले जनाए ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मिर्गौलाको डायलायसिस सेवा सञ्चालन गरेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले हरेक दिन मिर्गौला रोगीको संख्या बढेकोले समयमै परीक्षण गरे मिर्गौला रोगको जोखिम घटाउन सकिने बताए ।
लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री विष्णु पन्थीले पनि मिर्गौला रोग नियन्त्रणका लागि जनचेतना सबैभन्दा महत्त्वपूर्ण भएको बताउँछन् ।
मिर्गौला रोगको उपचार महँगो छ त्यसैले रोग लागेपछि उपचारभन्दा पनि समयमै सचेत भएर रोकथाममा ध्यान दिनुपर्छ । सरकारले पनि जनचेतना र प्रारम्भिक परीक्षणमा जोड दिनुपर्छ ।
गौतमबुद्ध मुटु अस्पताल लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो सामुदायिक डायलाइसिस केन्द्र बनेको छ । मुटु उपचारसँगै २०७२ सालदेखि मिर्गौला डायलाइसिस सेवा सुरु गरेको अस्पतालले बुटवल, कपिलवस्तु, पाल्पा, स्याङ्जा र दाङमा निरन्तर सेवा दिइरहेको छ भने बुटवलसहित कतिपय केन्द्रमा २४ सै घण्टा डायलाइसिस सेवा उपलब्ध गराएको छ ।
मिर्गौला उपचारतर्फ बुटवलमा मात्रै २० मेसिनबाट ३११ जनाले नियमित डायलाइसिस गराइरहेका छन् । यो अस्पतालका सबै क्षेत्रमा गरी ५५१ जनाले डायलाइसिस सेवा लिइरहेका छन् ।
प्रदेशभरमा १३६० डायलाइसिस गर्ने बिरामीको संख्या रहेकोमा गौतमबुद्ध एक्लैले यति ठूलो संख्यामा यो सेवा उपलब्ध गराइरहेको छ । २०७२ सालदेखि सुरु गरिएको निःशुल्क डायलाइसिस सेवाबाट हालसम्म ३ लाख ३३ हजार ७ सय २१ सेसन सेवा प्रदान गरिएको छ ।
मिर्गौला बिरामीका लागि १३ करोड ९४ लाख रुपैयाँ बराबरको निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराइएको छ । अस्पताल स्वयंले पनि १ करोड ४५ लाख रुपैयाँभन्दा बढीको निःशुल्क उपचार गरी सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको छ ।
हाल ५५१ जना मिर्गौला रोगीले नियमित रूपमा निःशुल्क डायलाइसिस गराइरहेको अस्पतालको तथ्यांक छ । अहिले बुटवलमा मात्रै मिर्गौलाको डायलाइसिस गर्नेको संख्या ३११ रहेको छ । २० वटा मेसिनबाट चौबीसै घन्टा सेवा प्रवाह गरिरहेको छ ।
कपिलवस्तु सामुदायिक मुटु अस्पतालमा ५७ जनाले १० वटा मेसिनबाट नियमित सेवा लिइरहेका छन् । यहाँ दुई सेसनमा डायलाइसिस भइरहेको छ । हप्ताको ६ दिन यहाँ सेवा प्रवाह हुँदै आएको छ ।
यसैगरी पाल्पा सामुदायिक डायलाइसिस सेन्टरमा मिर्गौला रोग लागेका ५९ जनाले नियमित सेवा लिइरहेका छन् । जिबिसी कै वालिङ सामुदायिक डायलाइसिस सेन्टरमा पनि ६७ जनाले नियमित रूपमा सेवा लिइरहेका छन् ।
दाङको लमही सामुदायिक डायलाइसिस सेन्टरमा पनि ५७ जनाले डायलाइसिस गराइरहेका छन् । मिर्गौला रोग विशेषज्ञ डा.रजत कायस्थको नेतृत्वमा ३५ जना स्वास्थ्यकर्मीले नियमित सेवा दिइरहेका छन् भने अस्पतालमा ३ सयभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।









































