वि.सं.२०८३ वैशाख ३ बिहीवार

ध्रुवराजलाई बधाई दिँदै शेरधनले लेखे, ‘भोजपुरको विकासको सपना अधुरै रहन दिन्नँ’

khanepani

भोजपुर । एमाले सचिव शेरधन राईले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गर्दै मतदातामा आभार व्यक्त गरेका छन् । उनी श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग पराजित भएका छन् ।

नतिजा सार्वजनिकपछि एक सन्देशमार्फत् उनले लोकतान्त्रिक अभ्यासमा आएको जनमतलाई कदर गर्ने बताए । सञ्चारमन्त्री एवं मुख्यमन्त्रीसमेत भइसकेका उनले आफूले जिल्लाको विकासमा पुर्‍याएको योगदानको स्मरण गरेका छन् ।

‘जिल्लाका अधुरा कामहरूलाई सम्पन्न गर्दै थप विकासमा उल्लेख्य योगदान गर्ने मेरो सपना यस पटक अधुरो रहेतापनि आफ्नो जन्म र कर्मभूमिप्रतिको दायित्वबाट म कहिल्यै टाढा रहने छैन’, उनको वाचा छ ।

निर्वाचनको परिणामबाट विचलित नहुन उनले कार्यकर्ता र समर्थकलाई आव्हान गरेका छन् । भोजपुरबाट विजयी भएका ध्रुवराजलाई बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

राईले सामाजिक सञ्जालमा राखेको सन्देश

आदरणीय भोजपुर जिल्लाबासी आमाबुवा, दिदिबहिनी तथा दाजुभाईहरु सेवा, नमस्कार

गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मलाई मतदान गर्नुहुने मतदाताज्यूहरू प्रति हृदयदेखि नै हार्दिक सम्मान व्यक्त गर्दछु ।

चुनावी अभियानका क्रममा अहोरात्र खटिनुहुने नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा आभार व्यक्त गर्दछु । त्यसैगरी निर्बाचन सम्पन्न गर्न गराउन महत्वपुर्ण जिम्मेवारी पूरा गर्नुहुने प्रमुख निर्बाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकायहरु, सबै कर्मचारीबर्ग लगायत सबैप्रति समेत धन्यबाद ब्यक्त गर्न चाहन्छु ।

एउटा जिम्मेवार पार्टीको नेता भएको र जिल्लाको एउटा क्षेत्रबाट (प्रतिनिधीसभा, संबिधानसभा र प्रदेशसभामा) निर्बाचित भएर राष्ट्रिय राजनितीमा भुमिका खेल्दै सुचना तथा संचार मन्त्री र प्रदेशको मुख्यमन्त्री भएको बेला जिल्लाको समग्र बिकासमा केही योगदान गरेको नाताले शुरु गरिएका अधुरा कामहरुलाई सम्पन्न गर्दै थप भोजपुरको बिकासमा उल्लेख्य योगदान गर्ने सपना अधुरो रहेतापनि आफ्नो जन्म र कर्मभुमिप्रतिको दायित्वबाट कहिल्यै टाढा रहने छैन ।

आगामी दिनमा समेत आफ्नो ठाउँबाट जिल्लाको बिकासमा सक्दो पहल र योगदान रहने विश्वास दिलाउँदै म सबै मतदाता दाजुभाई दिदीबहिनी लगायत सबै नेता कार्यकर्ता सर्मथक शुभेच्छुकहरुलाई निर्वाचन परिणामबाट निरास नहुन र कत्ति पनि बिचलित नहुन आव्हान गर्दछु । जनताको बीचमा रहेर आगामी चुनौतीहरुलाई सामना गर्ने दृढ मानसिकता सहित कार्यक्षेत्रमा फर्कन र रहन सम्पुर्ण पार्टी पंक्तिलाई आव्हान गर्दै, निर्बाचन परिणामलाई सहर्ष स्वीकार गर्दै यस निर्वाचनमा विजयी हुनु भएका श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु

ranechhap