काठमाडौं । एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल-भारत बैठकमा नेपाली झण्डा नराखिनुलाई कुटनीतिक खेलवाडको संज्ञा दिएका छन् । यसमा कसको कमजोरी भएको हो भनेर खोजबिन हुनुपर्ने उनको भनाइ छ ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हिजो भारतीय समकक्षी निर्मला सितारमणसँग वान टु वान र सामूहिक वार्ता गरेका थिए । वान टु वान वार्तामा भारतीय अर्थमन्त्रीसँग आफ्नो देशको झण्डा थियो भने नेपाली अर्थमन्त्रीसँग थिएन । दुई देशका प्रतिनिधिमण्डलबीचको वार्तामा दुवैतर्फ भारतीय झण्डा राखिएको तस्विर अर्थमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको छ ।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली द्वीपक्षीय वार्तामा समान हैसियतसाथ बस्नुपर्ने बताउँछन् ।
उनले भने, ‘यो कुनै अनौपचारिक बैठक थिएन । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भएको औपचारिक वार्ता थियो । यस्तोमा एउटा देशको मात्रै झण्डा हुनु शोभनीय हुँदैन । यो न्यूनतम कुटनीतिक प्रोटोकल विपरीत छ ।’
ज्ञवालीका अनुसार यस्तो वार्ता र बैठकहरूमा आयोजक देश र भ्रमण गर्न आएको समन्वय गर्नुपर्छ । आयोजकसँग झण्डा नभएमा नेपाली दूतावासले उपलब्ध गराउनुपर्ने उनी बताउँछन् ।
‘मन्त्रीजीलाई थाहा नहुन सक्छ । यसमा दूतावासले ध्यान पुर्याउनुपर्थ्यो । राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा गम्भीर चुक भएको छ । अब यस्तो गल्ती दोहोरिन हुँदैन,’ उनले भने ।







































