वि.सं.२०८३ असोज २ शुक्रवार

ट्रम्प र नेतन्याहु सत्तामा रहुञ्जेल होर्मुज बन्द रहने इरानी नेताको चेतावनी

khanepani

एजेन्सी । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्तामा रहुञ्जेल होर्मुज जलघाँटी नखोल्ने बताएका छन् ।

इरानी समाचार एजेन्सीहरूले बिहीबार प्रकाशित गरेको उनको भनाइ अनुसार इरानले ‘आक्रामक शत्रुको शक्ति तोड्ने’ र ‘अहंकारी शक्तिहरूको कम्मर भाँच्ने’ निर्णय गरेको छ ।

जोल्कदरले ट्रम्प र नेतन्याहुलाई सत्ताबाट हटाइएसम्म होर्मुज जलमार्ग नखोलिने बताएका हुन् । उनले यसलाई इरानको बदलाको कारबाहीको पहिलो चरण भएको दाबी गरेका छन् ।

बीबीसी पर्सियनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग युद्ध वा वार्ताका विषयमा पटक–पटक फरक–फरक धारणा सार्वजनिक गरिरहेका छन् । यहीबीच इरानभित्र पनि अमेरिकासँग सैन्य टकराव जारी राख्ने वा वार्ताको बाटो अपनाउने भन्ने विषयमा मतभेद बढ्दै गएको छ ।

इरानका केही शीर्ष राजनीतिक नेताहरूले अमेरिकासँगको इस्लामाबाद सम्झौता कार्यान्वयन गर्न र त्यसलाई युद्ध अन्त्य गर्ने शर्तका रूपमा स्वीकार गर्न आह्वान गरिरहेका छन् । राष्ट्रपति मसुद पेजेस्कियान र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफ पनि यस्तो धारणा राख्ने नेतामध्ये छन् ।

तर इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का सैनिक तथा कमान्डरसहित कट्टरपन्थी समूहले भने युद्ध जारी राख्नु र होर्मुज जलडमरू बन्द गर्नु अमेरिका तथा इजरायलको सामना गर्ने प्रभावकारी रणनीति भएको बताइरहेका छन् ।

यसबीच बढ्दो महँगी, आर्थिक प्रतिबन्ध र इरानका दक्षिणी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दीका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय मुद्राको तुलनामा इरानी रियालको मूल्यमा आएको गिरावटले पनि नागरिकको आर्थिक समस्या थप गम्भीर बनाएको छ ।

ranechhap