काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अर्थात् यही फागुन २१ गते मतदानका समयमा देशभरका कुनै पनि स्थानमा होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस सञ्चालन गर्न कुनै बाधा नहुने भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार सामान्य अवस्थामा सबै पार्टी प्यालेस, होटल तथा रेष्टुरेन्ट खोल्न पाए पनि मदिरा र नशालु पदार्थको बिक्री वितरण भने गर्न पाइने छैन ।
फागुन २१ गते यदि कोही कसैले मदिरा तथा नशालु पदार्थ विक्री वितरण गरेको पाइएमा सम्बन्धित होटलका सञ्चालकदेखि व्यवस्थापकसम्मलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिने भएको छ ।
निर्वाचन आयोगद्वारा जारी आचारसंहिता फागुन १५ गते रातिदेखि लागू भएकोले प्रतिबन्धित विषयको कार्यान्वयनमा देशभरका प्रहरी युनिट सक्रिय रहेको प्रवक्ता काफ्लेले बताए । तर, मदिरा पसल र मदिरा बिक्री गरिने अन्य पसल भने सञ्चालन गर्न दिइने छैन । सँगै मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा हिँड्डुल गर्न नपाइने भएको छ ।
‘१५ गते रातिदेखि नै लागू भइसकेको छ, त्यही पनि त्यस्ता पसल खुलेका र होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसले मदिरा बिक्री गरेका सूचना आएका छन्,’ उनले भने, ‘अब स्थानीय प्रहरी युनिटले एक(एक गरी त्यस्ता ठाउँमा नियन्त्रण कायम राख्छन् ।’
होली पर्वका क्रममा सामाजिक र सांस्कृतिक परम्परा अनुसार मनाउन कुनै बाधा नभएको उनको भनाइ छ । तर, त्यसक्रममा भेला, भिड जम्मा पार्ने, स्टेज कार्यक्रम गर्नेजस्ता काममा रोक लगाइएको छ ।
विवाह, ब्रतबन्धसहित विभिन्न किसिमका धार्मिक तथा सामाजिक कार्यका लागि साइत भएका कारण होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेसलाई पूर्ण रुपमा बन्द गराउन नमिलेको प्रवक्ता काफ्लेले बताए ।
मदिरा तथा नशालु पदार्थको कारोबार, हो(हल्ला र मञ्चमा बसेर भाषण गर्नेजस्ता काममा भने कडाइका साथ नियन्त्रण गरिने उनको भनाइ छ ।








































