काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले बाढी प्रभावितलाई विदेशी दातृ निकाय र देशले दिएका सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै दातृ निकायले दिएको सामग्री विमानस्थलको कार्गोमा राख्दा राम्रो सन्देश नजाने बताए।
उनले भने, ‘कोरोनाका बेलामा विदेशीले दिएको २० कन्टेनर सामान खेर गयो । हाल पनि यसरी नै विदेशीहरूले दिएको आधा नेपाललाई एक वर्ष पुग्ने सामानहरू थन्किएको छ ।’
त्यसबारे आफूले बुझ्दा सम्बन्धित क्षेत्रबाट माग नभएको कुरा आएको बताए ।
उनले थपे, ‘माग छ कि छैन । सम्बन्धित क्षेत्रका नागरिकहरूलाई बुझियोस्। माग छैन भने ती सामग्रीहरूको व्यवस्थापन गरियोस् । विदेशीहरूले दिएका सामान एयरपोर्टमा अलपत्र रूपमा छाड्ने हो भने त्यसले राम्रो गर्दैन। आवश्यकता छ भने सम्बन्धित क्षेत्रमा पुर्याइयोस् ।’
एयरपोर्टमा अलपत्र सामान छाडेर नागरिकहरूलाई मलमपट्टी गर्ने सामान नभएको समाचार सुन्नु नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराए।







































