वि.सं.२०८३ असोज २ शुक्रवार

अख्तियारमा भूमिसहित १० वटा मन्त्रालयसँग सम्बन्धित उजुरी सबै भन्दा बढी

khanepani

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केन्द्र सरकारका १० वटा मन्त्रालयसँग सम्बन्धित उजुरी सबै भन्दा धेरै परेको छ । आर्थिक वर्ष २०८२/०८३ मा आयोगमा परेका उजुरीमध्ये सबै भन्दा धेरै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित ३ हजार ३६ वटा उजुरी परेको आयोगले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

सङ्घतर्फ परेका १५ हजार ५१२ उजुरीमध्ये १९ प्रतिशतभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित रहेका अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित १९ सय ८३ वटा, गृह मन्त्रालयसँग सम्बन्धित १७ सय ५७ वटा, पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित १ हजार ९५ वटा, अर्थ मन्त्रालयसँग सम्बन्धित ८७७ वटा र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित ८१६ उजुरी परेको आयोगले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसँग सम्बन्धित ६५७ वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित ५६३ वटा उजुरी परेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित ५४८ र सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित ३९९ वटा उजुरी आयोगमा दर्ता भएका छन् । गत आर्थिक वर्षमा अन्य मन्त्रालयसँग सम्बन्धित ३ हजार ७८१ उजुरी दर्ता भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोगले बिहीबार छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ । प्रतिवेदन ४६९ पृष्ठको लामो रहेको आयोजनाले जनाएको छ ।

ranechhap