वि.सं.२०८३ असोज १ बिहीवार

शहिद परिवारको धम्कीपूर्ण अभिव्यक्तिमा रास्वपा महामन्त्रीको आपत्ति, कानूनी कारवाहीको माग

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले फरक विचार राखेकै आधारमा सांसदहरूमाथि भौतिक आक्रमण गर्ने धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्ता अतिवादी धम्की दिनेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे ।
हालै मात्र रास्वपाकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिमा आपत्ति जनाउँदै जेनजी सहिदका परिवारले उनलाई सदनबाट घिसार्ने चेतावनी दिएका थिए ।

साथै, गृहमन्त्री सुदन गुरुङलाई तलमाथि गरेमा देशमा अर्को ठूलो रक्तपात मच्चाउने पनि उनीहरुले बताएका थिए । त्यही सन्दर्भमा आचार्यले यस्तो बोलेका हुन् ।

संसद बैठकमा बोल्दै महामन्त्री आचार्यले प्रसिद्ध फ्रान्सेली दार्शनिक भोल्तायरको भनाइ स्मरण गरे ।

उनले भने, ‘म तिम्रो कुरासँग असहमत हुन सक्छु तर तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम साससम्म लडिरहनेछु । भोल्तायरको यो भनाइले अभिव्यक्तिको स्वतन्त्रता र लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड हुनुपर्छ भन्ने कुरालाई स्पष्ट रूपमा बोल्छ ।’

नेपालको संविधानले पनि अभिव्यक्ति स्वतन्त्रतालाई नागरिकको मौलिक हकका रूपमा ग्यारेन्टी गरेको उनले उल्लेख गरे । फरक मत राख्ने जनप्रतिनिधिहरूमाथि भइरहेको अराजक र हिंसात्मक चेतावनीप्रति आपत्ति जनाउँदै उनले भने, ‘फरक विचार राखेकै कारण सांसदहरू विरुद्ध खुल्लमखुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउने जस्ता प्रथमदृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो ।’

यस्ता गतिविधिले लोकतन्त्र र कानुनी शासनलाई चुनौती दिएको भन्दै उनले गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराइसकेको जानकारी दिए ।

‘यी अतिवादी धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको छु,’ आचार्यले भने।

सभामुखमार्फत संसदको ध्यानाकर्षण गराउँदै उनले तथ्यपरक रूपमा आवाज उठाउने सांसदहरूको मनोबल उच्च राख्न संसदले नै अभिभावकीय भूमिका खेल्नुपर्ने बताए । उनले थपे, ‘म चाहन्छु, यस सम्मानित संसदले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस्- ‘बोल्न नडराउनु, हामी तिमीसँगै छौँ ।’

ranechhap