काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै तहका सदस्यहरूलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अधिवेशनबाट कुनै पनि सदस्य वञ्चित हुनु नपर्ने गरी साङ्गठनिक व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रवक्ता चालिसेले भने, ‘गत भदौ २८ गतेको बैठकले सदस्यता नवीकरण भएका र अधिवेशन प्रक्रियामा जोडिएका सम्पूर्ण सदस्यहरूलाई सहभागी गराउने निर्णय गरिसकेको छ। सदस्यताको नाममा अब कुनै पनि साथीहरू अधिवेशनबाट वञ्चित हुने अवस्था रहँदैन।’
उनले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत आगामी महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको बताए । बैठकले पार्टीको विधानबमोजिम वडा अधिवेशनदेखि केन्द्रसम्मका सबै तहमा समानुपातिक र सहभागितामूलक वातावरण निर्माण गर्ने दिशामा जोड दिएको उनले बताए ।
प्रवक्ता चालिसेले बैठकले पार्टीको समग्र एकता र राष्ट्र निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकाबारे विस्तृत छलफल गरेको जानकारी दिए । ‘१५औँ महाधिवेशनलाई एउटा ‘महोत्सव’का रूपमा सम्पन्न गर्न हामीले कार्यतालिकालाई अझ चुस्त र व्यवस्थित बनाउँदै लगेका छौँ। यसले पार्टीलाई थप एकताबद्ध बनाउने छ,’ उनले भने ।
पार्टीभित्रका केही प्राविधिक र व्यवस्थापकीय प्रश्नहरूलाई हल गर्दै कांग्रेसले आफ्नो आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने रणनीति लिएको छ। प्रवक्ता चालिसेका अनुसार, सबै तहका अधिवेशनहरूलाई निर्धारित मितिमै सम्पन्न गर्नका लागि आवश्यक निर्देशन दिइसकिएको छ।
बैठकमा उपस्थित भएका नेताहरूले पार्टीको आगामी यात्रा र सङ्गठन सुदृढीकरणका लागि सामूहिक प्रतिबद्धता जनाएको प्रवक्ता चालिसेले बताए।







































