वि.सं.२०८३ असोज १ बिहीवार

गत आर्थिक वर्षमा स्थानीय तहविरुद्ध उजुरीको चाङ, २५ अर्ब बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा

अख्तियारद्वारा ९९० जनाविरुद्ध २५ अर्बभन्दा बढी बिगो मागदाबीसहित १७५ मुद्दा दायर

khanepani

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न भ्रष्टाचारजन्य कसुरमा ९९० प्रतिवादीविरुद्ध कुल २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा १७५ वटा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दायर मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक हानि–नोक्सानीसम्बन्धी ५६ वटा रहेका छन् । त्यसैगरी घूस (रिसवत) सम्बन्धी ४१, गैरकानुनी लाभ वा हानिसम्बन्धी २७, झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १५ र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ वटा मुद्दा दायर गरिएका छन् । राजस्व चुहावट र सम्पत्ति शुद्धीकरणसम्बन्धी पाँच–पाँच तथा अन्य विविध कसुरसम्बन्धी १५ वटा मुद्दा अदालत पुगेका छन् ।

आयोगको वार्षिक तथ्याङ्कअनुसार तहगत आधारमा सबैभन्दा धेरै उजुरी स्थानीय तहसँग सम्बन्धित परेका छन् । स्थानीय तहका २० हजार २५, सङ्घ सरकारका १५ हजार ५१२ र प्रदेश सरकारका पाँच हजार ३०५ वटा उजुरी दर्ता भएका छन् । समग्र उजुरी सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम रहेको छ । बागमतीबाहेक अन्य छ वटै प्रदेशमा स्थानीय तहविरुद्ध बढी उजुरी परेका छन् ।

विषयगत आधारमा मधेस प्रदेशबाहेक अन्य छ वटा प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी बढी छन् भने मधेसमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका उजुरी धेरै छन् । सङ्घीय मन्त्रालयतर्फ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा अगाडि देखिएको छ ।

ranechhap