वि.सं.२०८३ वैशाख २४ बिहीवार

कञ्चनपुर–१ मा विना र ताराको टक्करबिच फाइदा उठाउने दाउमा अन्य उम्मेदवार

khanepani

धनगढी । प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गर्दा कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि उम्मेदवारहरू मतदाताको विश्वास जित्न कसरत गरिरहेका छन् ।
यो निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा खडा भएका छन् । उम्मेदवारहरू चुनावमा आफूलाई जिताए यहाँका सबै समस्या सम्बोधन गर्ने आश्वासन दिँदै मतदाताको घरदैलोेमा पुग्न व्यस्त छन् ।

मतदाताहरू भने विगतमा चुनाव जितेकाले पनि यस्तै आश्वासन दिने गरेको स्मरण गर्दै जनताको पक्षमा खासै काम हुन नसकेको बताउँछन् ।

कृषि क्षेत्रमा आवद्ध यहाँका अधिकांश मतदाताले वर्षौंदेखि कृषि क्षेत्रका समस्या भोग्दै आएका छन् । यसअघि जिताएकाहरूले केही पनि काम नगरेकाले अहिले १९ जनामध्ये छानेर भोट दिने स्थानीयहरू बताउँछन् ।

‘पहिला जिताएकाहरूले काम केही गरेको देखेनौँ, चुनावको बेलामात्रै गाउँमा आउने, अरू बेला नाक–मुख नदेखाउने गरेका कारण यो पटक भोट बदल्ने विचार छ,’ बेलौरी नगरपालिका–४ का ६७ वर्षीय भवानी बोहराले भने ।

मतदाताका अनुसार यहाँ चुनाव अगाडि नेताहरूले सीमा समस्या हटाउँछु, बाटोघाटो समस्या समाधान गर्छौं, कृषि, खानेपानीका समस्या समाधान गर्छौं भन्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

लालझाडी गाउँपालिका–३ का ४५ वर्षीय रामसिंह वडायकले स्थानीयका समस्या नजिकबाट हेर्ने र बुझ्नेलाई मत दिने बताए । ‘जुन मान्छेलाई यहाँका समस्या थाहा हुन्छ, उसलाई भोट दिने हो,’ उनले भने ।

२०७० सालको संविधान सभा चुनावबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्दा विना मगर एमाले उम्मेदवारसँग पराजित भएकी थिइन्, तर २०७४ को चुनाव उनका लागि स्वर्णिम समय बन्यो । वाम गठबन्धनको लहर र एमालेको साथले उनले फराकिलो जित हात पारिन् र खानेपानी मन्त्री बनिन् ।

२०७९ को चुनावमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दह्रो साथ हुँदाहुँदै पनि विना मगर पराजित भइन् । उनलाई हराउने अरू कोही नभएर २०७४ मा उनकै सारथि रहेका तारा लामा तामाङ थिए । ५ हजार ५४६ मतको अन्तरले हारेकी विनाको मनमा त्यो हारको पीडा अझै ताजै छ ।

अहिले विना मगर चौथो पटक चुनावी मैदानमा छिन्, तर यस पटकको उनको परिचय बदलिएको छ । उनी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी छन् । आफ्नो माइती गाउँसमेत रहेको यो क्षेत्रमा हुर्के–बढेकी विनाका लागि यो लडाइँ भावनात्मक पनि छ, तर विगतमा कांग्रेसको साथ पाउँदा पनि जित हासिल गर्न नसकेको अवस्थामा उनलाई अहिले सहज देखिँदैन ।

तारा लामा तामाङको कथा अलि फरक छ । उनी कुनै ठुलो राजनीतिक घरानाबाट आएका होइनन् । २४ वर्षकै कलिलो उमेरमा २०५४ सालमा तत्कालीन कालिका गाविसको अध्यक्ष जितेर उदाएका तामाङले एमालेको जिल्ला नेतृत्व लामो समय सम्हाले ।

२०७४ मा प्रदेश सभा कञ्चनपुर–१ (१) बाट निर्वाचित हुँदै सुदूरपश्चिम सरकारको आर्थिक मामिलामन्त्री बनेका उनी एमाले विभाजनका बेला एकीकृत समाजवादीमा खुलेर पनि फेरि एमालेमै फर्किएका थिए । २०७९ सालको चुनावमा प्रतिनिधि सभामा गठबन्धनकी साझा उम्मेदवार विना मगरलाई हराएर सबैलाई चकित पारेका उनी यसपटक पनि एमालेको भरोसा बनेका छन् । आफ्नो पुरानो जितको इतिहास दोहोर्‍याउने आत्मविश्वास उनीमा देखिन्छ ।

यस पटकको चुनावमा विना र ताराबिच आफ्नो वर्चश्व फर्काउने होड चलिरहँदा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत भने जित आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

२०७९ मा गठबन्धनका कारण आफ्नो उम्मेदवार नहुँदा निसास्सिएका कांग्रेस कार्यकर्ताहरू यसपटक उत्साहित छन् । कांग्रेसले गोपीप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । न्याय, समानता र समावेशी विकासको नारा लिएर गाउँ पसेका उपाध्यायको छवि स्थानीयमा राम्रो छ ।

अर्काेतर्फ, उदाउँदो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामी पुराना दलप्रतिको वितृष्णा ‘क्यास’ गर्दै सामाजिक सम्बन्धलाई भोटमा बदल्ने दाउमा छन् ।

२०७९ को समानुपातिक मतलाई आधार मान्ने हो भने यहाँ रोचक प्रतिस्पर्धा हुने देखिन्छ । समानुपातिकमा एमालेले १७ हजार ९५४ मत ल्याउँदा कांग्रेस १४ हजार ८०६ मतका साथ दोस्रो शक्ति थियो । माओवादी केन्द्रले ९ हजार ६७७ र नागरिक उन्मुक्ति पार्टीले ७ हजार ४३० मत समानुपातिकतर्फ पाएका थिए ।

यो निर्वाचन क्षेत्रमा एमालेको कोर भोट बलियो छ । अर्कोतिर नेकपाकी विना मगरले माओवादी, एकीकृत समाजवादी र अन्य साना कम्युनिस्ट घटकको मत कति जोगाउन सक्छिन्, त्यसमा उनको भविष्य अडिएको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा पाएको आफ्नो १४ हजार समानुपातिक मत जोगाएर मात्र पुग्दैन, उसले उक्त मतमा बढोत्तरी गर्न अझ मेहनत गर्नुपर्ने देखिन्छ ।

एक कार्यकाल सांसदका रूपमा निर्वाचित भई मन्त्रीसमेत बन्न सफल विनाका लागि उक्त कार्यकालमा उनले गरेका कामका आधारमा नै मतदाताले उनलाई फेरि मत दिने कि नदिने भन्ने तय गर्नेछन् । अर्कोतिर एमालेका लामा पनि एक पटक सांसदको भूमिका निर्वाह गरिसकेका कारण मतदाताले उनको कार्यकालको मूल्याङ्कनकै आधारमा मत निर्धारण गर्ने देखिन्छ ।

यी दुई मुख्य उम्मेदवारमाथि मतदाताले उनीहरूको एक कार्यकालको मूल्याङ्कनका आधारमा आफ्नो धारणा बनाउनुपर्ने अवस्थाका बिच कांग्रेस र रास्वपा भने कम्युनिस्ट दुई घटकबिचको प्रतिस्पर्धाबाट फाइदा उठाउने रणनीतिमा हुनेछन् ।

रास्वपाले अहिले आफ्नो अनुकूल राजनीतिक लहरको प्रभावलाई यो क्षेत्रमा कति फैलाउन सक्छ र मतदाताको विश्वास कति हासिल गर्न सक्छ भन्ने पनि चासोको विषय बनेको छ ।

यो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालबाट कृष्ण बहादुर चौधरी र राप्रपाबाट दिल्ली शाही लगायतका उम्मेदवारले काट्ने मतले पनि हार–जितको नतिजामा हेरफेर गर्न सक्ने आकलन गरिएको छ ।

यहाँ स्वतन्त्र उम्मेदवारहरू अनिल राना, मन्जु देवी सुनारदेखि विप्लवका पुरन राना थारुसम्मले आ–आफ्नो उपस्थिति जनाएका छन् ।

ranechhap