काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा दिनदहाडै खुकुरी प्रहार गरेर हत्या गर्नेमा आपराधिक पृष्ठभूमिका युवक संलग्न रहेको भेटिएको छ । बुधबार ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका बिपिन घिमिरेको मृत्यु भएको थियो ।
हत्यामा हिरासतबाट छुटेका एक जना युवकको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘वैशाख २१ मा कीर्तिपुरको हिरासतबाट छुटेका एक जना युवक पनि संलग्न रहेको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ ।’
धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पताल मृत्यु भएको थियो । घटनामा स्थलमा सुरुमा ४ जना र पछि थप एक जना आएको देखिन्छ दृश्य सिसिटिभीमा देखिन्छ । तर, हत्यामा ३ जना मात्रै संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
सोधपुछको लागी प्रहरीले ३ जना शङ्कितहरूलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको टोली परिचालन गरिएको छ । एक जना युवकले सुरुमा उनलाई पछाडिबाट खुकुरी प्रहार गरेको सिसिटिभीमा देखिन्छ ।
प्रहरी स्रोतका अनुसार महेन्द्रनगर घर भएका राज भन्ने राजेन्द्र विष्टले आक्रमणको नेतृत्व गरेका थिए । उनी फरार छन् ।
खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको एसपी भट्टराईले बताए । उनले भने, ‘आरोपीहरूको पहिचान भएको छ, हामी खोज्दै छौँ ।’ आरोपीहरू पहिले पनि मुद्दा चलेका युवाहरू संलग्न देखिएका छन् । मृतक र हत्यामा संलग्नहरू पूर्व परिचित हुन्।








































