वि.सं.२०८३ वैशाख २४ बिहीवार

डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल बन्ने प्रधानन्यायाधीश

khanepani

काठमाडौँ । संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो ।

शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । शर्माले २०५२ सालमा अधिवक्ताका रूपमा दर्ता भई कानुनका विभिन्न क्षेत्रमा वकालतमा सक्रिय भएका शर्माले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानुनी परामर्श पनि प्रदान गरेका छन् । साथै उनले २०७० देखि २०७२ सम्म बुटवल र पाटनस्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेका थिए । शर्माको जन्म २०२७ असार ४ गते पर्सा जिल्लाको वीरगन्जमा भएको हो ।

उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि प्राप्त गरेका छन् । साथै त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको रोलक्रम मिचेर चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो पटक हो । संबिधानमा न्याय परिषदले सिफारिस गरेका मध्येबाट प्रधानन्यायाधीश नियुक्त गर्न सकिने व्यवस्था भएकाले रोलक्रम मिचिदा त्यसको कानुनीरुपमा बाधा भने रहेको छैन ।

अब संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ । हाल ५६ बर्षका शर्माले ६ वर्षको पुरा कार्यकाल सर्वोच्चको प्रधानन्यायाधीश भएर बिताउने भएका छन् ।

ranechhap