काठमाडौँ । सिँचाइ विभागका पूर्व इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध सार्वजनिक पदमा रहँदा सरकारी संरचनाहरूको निर्माणमा ठेकेदारहरूसँग मिलेर कमिसन लिई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उनको नाममा रहेका विभिन्न सम्पत्तिहरूको स्रोत पत्ता लाग्न नसकेको भन्दै अख्तियारले ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँको सम्पत्ति जफत गर्न माग गरेको छ।
यसका अतिरिक्त, विष्णु कुमार श्रेष्ठले आफ्नो परिवारको नाममा समेत गैरकानुनी सम्पत्ति स्थानान्तरण गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ । उनको पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई पनि आरोपित गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको जाँच अनुसार, विष्णु कुमार श्रेष्ठले २0७७ सालको माघ महिनासम्म ११ करोड २५ लाख ६५ हजार रुपैयाँभन्दा बढी आय आर्जन गरेको अभियोग छ । यसमा तलब, पारिश्रमिक, कम्पनी मुनाफा, कृषि आय, शेयर बिक्री लगायतका विभिन्न स्रोतहरू समावेश छन् ।








































