वि.सं.२०८३ वैशाख ७ सोमवार

बेलायती सांसद टुलिप सिद्दिकलाई बंगलादेशमा चार वर्षको जेल सजाय, लेबर पार्टीद्वारा विरोध

khanepani

ढाका । बंगलादेशको एक अदालतले बेलायती लेबर पार्टीकी सांसद तथा पूर्वमन्त्री टुलिप सिद्दिकलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाएको छ। अदालतले सिद्दिककी फुपू एवं बंगलादेशकी पदच्युत प्रधानमन्त्री शेख हसिना र परिवारका अन्य दुई सदस्यलाई पनि छुट्टाछुट्टै भ्रष्टाचारका मुद्दामा जेल सजाय तोकेको हो।

अदालतले यो फैसला अभियुक्तहरूको अनुपस्थितिमा गरेको हो। लेबर पार्टीले यस कानुनी प्रक्रियालाई ‘अनुचित’ भन्दै कडा आलोचना गरेको छ। पार्टीका प्रवक्ताले सिद्दिकलाई निष्पक्ष कानुनी प्रक्रियामा सहभागी हुने अवसर नदिइएको र उनीमाथि लागेका आरोपको विस्तृत विवरण समेत उपलब्ध नगराइएको बताएका छन्। कसैलाई पनि आरोप लाग्दा कानुनी प्रतिवाद गर्ने अधिकार हुनुपर्नेमा यस मामिलामा त्यसो नभएकाले अदालतको फैसलालाई मान्यता दिन नसकिने लेबर पार्टीको अडान छ।

टुलिप सिद्दिकलाई यस अघि सन् २०२५ को अन्त्यतिर अर्को भ्रष्टाचार मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो। उनले आफ्नी फुपू शेख हसिनाको ‘विशेष शक्ति’ प्रयोग गरी राजधानी ढाका बाहिर जग्गा कब्जा गर्न प्रभाव पारेको आरोप लागेको थियो। सिद्दिकले यो सम्पूर्ण प्रक्रियालाई सुरुदेखि नै ‘त्रुटिपूर्ण र हास्यास्पद’ भन्दै आएकी छन्।

आफ्नी फुपू र उनका निकटवर्तीहरूसँगको सम्बन्ध तथा लन्डनस्थित केही सम्पत्ति प्रयोगको विषयमा प्रश्न उठेपछि सिद्दिकले जनवरी २०२५ मा बेलायती अर्थतन्त्र राज्यमन्त्री (ट्रेजरी मिनिस्टर) पदबाट राजीनामा दिएकी थिइन्। प्रधानमन्त्रीका नीति सल्लाहकार सर लाउरी म्याग्नसले उनको कार्यमा प्रत्यक्ष ‘अनैतिकता’ नभेटिए पनि फुपूसँगको सम्बन्धले पर्न सक्ने ‘प्रतिष्ठाको जोखिम’ प्रति उनी सजग हुनुपर्ने बताएका थिए।

सन् २०२४ को अगस्टमा जनआन्दोलनका कारण सत्ता छोडेर भारत पलायन भएपछि शेख हसिना र उनको परिवारमाथि शृङ्खलाबद्ध कानुनी कारबाही सुरु भएको हो। १५ वर्षसम्म बंगलादेशको सत्ता सम्हालेकी हसिनालाई गत वर्ष विद्यार्थी आन्दोलन दबाउने क्रममा भएको मानव अधिकार उल्लंघनको मुद्दामा मृत्युदण्डको सजाय समेत सुनाइएको थियो।

हसिनाले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक प्रतिशोधबाट प्रेरित र पूर्वाग्रही भएको दाबी गर्दै आएकी छन्। बंगलादेशमा भएको सत्ता परिवर्तनपछि हसिना परिवारका सदस्यहरू विदेशमा रहेकै अवस्थामा उनीहरू विरुद्ध धमाधम फैसलाहरू भइरहेका छन्।

ranechhap