वि.सं.२०८३ वैशाख ८ मंगलवार

देश ब्ल्याक लिस्टतिर जाने खतरा बढ्यो : सांसद भट्टराई

khanepani

काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको संगठित अपराध र सम्पती शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले हाल नेपाल ‘ग्रे लिस्ट’ मा रहेको अवस्थामा यस्ता संवेदनशील मुद्दा कमजोर पार्ने कार्यले देशलाई ‘ब्ल्याक लिस्ट’तर्फ लैजाने खतरा बढेको बताए ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा राज्य संयन्त्र नै लागेर अपराधलाई प्रोत्साहन गर्ने हो भने अब देश ब्ल्याक लिस्टमा जानबाट कसले रोक्नसक्छ ? भन्ने उनको प्रश्न थियो ।

‘अहिले देश ग्रे लिस्टमा छ । संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दालाई कमजोर बनाउन राज्य संयन्त्र नै लागेर अपराधहरूलाई प्रोत्साहन गर्ने हो भने अब ब्ल्याक लिस्टमा जान कसैले रोक्नसक्छ ? अब त देश ब्ल्याक लिस्टतिर जाने खतरा बढ्यो,’ उनले भने ।

नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुन निर्माण र कार्यान्वयनका लागि विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको उनले उल्लेख गरे ।

‘कानुन निर्माण गरेर सम्पत्ति शुद्धीकरण गर भन्ने अन्तर्राष्ट्रिय समुदायको आग्रहमा हामीले हस्ताक्षर गरेका छौँ । यसले के देखाउँछ भने अझै देशलाई खाल्टोतिर लैजाने, विदेशी शक्तिहरूले चलखेल गर्ने सम्भावना बढ्दै गएको छ,’ उनले शंका गरे ।

महान्यायाधिवक्ताको कार्यालयले विभिन्न सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रास्वपा सभापति लामिछानेमाथि लगाइएका ‘संगठित अपराध’ र ‘सम्पती शुद्धीकरण’ सम्बन्धी मुद्दा परिमार्जन गरी फिर्ता लिने निर्णय गरेको थियो ।

उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ ।

ranechhap