काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दल र उम्मेदवारहरूले छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियानसम्बन्धी आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था गरेको हो ।
निर्वाचन आयोगको सिफारिसमा नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरि प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत)एवम् स्वतन्त्र उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन जारी गरिएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई यससम्बन्धी खाता खोल्न भनिएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ– निर्वाचन आयोग नेपालको अनुरोधबमोजिम आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्रा (रुपैयाँ पैसा) को आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत)एवम् स्वतन्त्र उम्मेदवारहरूलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन यो सूचना जारी गरिएको छ ।
राष्ट्र बैंकका अनुसार यी खाताहरू नेपाली मुद्रा (रुपैयाँरपैसा)मा मात्र सञ्चालन हुने गरी एउटा (एक मात्र)खाता खोल्न पाइनेछ । यस्तो खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।









































