वि.सं.२०८३ वैशाख ७ सोमवार

आयात खुला गर्ने ओली सरकारको निर्णयको निरन्तरता : बढ्यो सुपारी र केराउ आयात

khanepani

काठमाडौँ । लामो समयदेखि विवादित र चोरी निकासीको आरोप लाग्दै आएको सुपारीमा कोटा हटाएपछि आयातमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ६३ करोड ५७ लाख ९४ हजार रुपैयाँ बराबरको ३ हजार १६४.२१ मेट्रिक टन सुपारी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

सुपारी आयातको यो परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भए पनि कोटा हटाउनुअघिको तुलनामा भने ठुलो वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को यसै अवधिमा ४५ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको २ हजार ११ मेट्रिक टन सुपारी आयात भएको थियो ।

सरकारले अघिल्लो वर्षदेखि सुपारी आयातमा कोटा हटाएर औद्योगिक प्रयोजनका लागि आयात खुला गरेको थियो । २०७६ सालमा आयात प्रतिबन्ध गरेको सुपारी २०७७ मा कोटामार्फत आयात अनुमति खुला गरेको थियो । गत वर्षदेखि कोटा हटाइ औद्योगिक प्रयोजनका लागि आयात खुला गरिएको छ ।

सरकारले सुपारी, केराउ, मरिच र छोकडाको समेत तस्करी बढेको भन्दै २०७६ चैत २४ गते सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ (१) बमोजिम वस्तु आयातमा रोक लगाएको थियो । तर २०७७ चैत ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाई यी वस्तु आयातको कोटा तोकेको थियो । यसपछि कोटामार्फत आयात हुने गरेकोमा २०८१ मा सुपारी, मरिच र केराउ आयातमा रहँदै आएको कोटा हटाउने ओली सरकारले निर्णय गरेको थियो ।

त्यस्तै अन्तरिम सरकारले पनि ओली सरकारको निर्णयलाई निरन्तरता दिँदै आयात खुला गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सरकारले चालु वर्ष २०८२/८३ का लागि गत पुस २८ गते राजपत्रमा प्रकाशित गर्दै उत्पादनमूलक उद्योगहरूमा आवश्यक पर्ने कच्चा पदार्थको रूपमा प्रयोग गर्न सुपारी, केराउ, मरिच आयात अनुमति दिएको हो ।

साथै चालु वर्षमा सुपारी आयात मूल्यमा ठुलो उछाल आएको छ । अघिल्लो वर्ष ४१ करोड ७७ लाख ७० हजार रुपैयाँको ३ हजार १६०.९६ मेट्रिक टन सुपारी आयात भएको थियो । यसरी चालु वर्षको ६ महिनामा करिब २२ करोड रुपैयाँ बढी मूल्यमा सुपारी भित्रिएको छ ।

तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको ६ महिनाको सुपारी आयातबाट ७९ अर्ब ९४ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७७ करोड ७८ लाख ८८ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

मागअनुसार छ स्वदेशी उत्पादन ?

सुपारी उत्पादक संघका अनुसार नेपालका पूर्वी तराईका पाँच जिल्लामा सुपारी खेती हुने गरेको छ । झापामा २७६५ हेक्टर, सुनसरीमा १४० हेक्टर, मोरङमा ९०५ हेक्टर, इलाममा २०७ हेक्टर र उदयपुरमा ३५ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुने गरेको छ । यी जिल्लामा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने संघको तथ्याङ्क छ ।

यस्तै नेपालमा भएका गुट्खा उद्योगले करिब वार्षिक ६ देखि ७ हजार मेट्रिक टन सुपारी खपत गर्ने अनुमान छ । अन्य प्रयोजनमा गरी नेपालमा कुल ८ देखि १० हजार मेट्रिक टन सुपारी खपत हुने अनुमान रहेको छ । त्यसो त नेपालमा उत्पादन सुपारी नै औद्योगिक प्रयोजनमा पर्याप्त रहेको एक सुपारी उत्पादक बताउँछन्, तर पनि सुपारी आयात भइरहेको छ । आयातको तथ्याङ्क भन्सारले उल्लेख गरे पनि निर्यातको तथ्याङ्क उल्लेख भएको देखिँदैन । यसो त सुपारी आयातका नाममा चोरी निकासी हुने गरेको सरोकारवाला बताउँछन् ।

भन्सार विभागका प्रमुख श्यामप्रसाद भण्डारी भने औद्योगिक प्रयोजनका लागि मात्र आयात भइरहेको बताउँछन् ।

‘उद्योगीहरूले मात्र सुपारी आयात गर्न पाउने व्यवस्था छ । व्यापारिक प्रयोजनका लागि आयात गर्न पाइँदैन । यो आयात भएको सुपारी औद्योगिक प्रयोजनमा मात्र हो,’ भण्डारीले भने,‘हामीले चोरी पैठारी र चोरी निकासी हुन नदिन भन्सारमा कडा गरिरहेका छौँ । तर खुला सीमाका कारण हुने हामीले नियन्त्रण गर्न सक्ने अवस्था छैन ।’

केराउ आयात बढ्यो, मरिच घट्यो
सरकारले औद्योगिक प्रयोजनका लागि खुलाएको एचएस कोड ०७१३.१०.१० को केराउ आयात पनि बढेको छ । केराउ आर्थिक वर्ष २०८२/८३ को पुससम्ममा ४ करोड १ लाख ३६ हजार रुपैयाँको १५८.३२ मेट्रिक टन केराउ आयात भएको छ ।

आर्थिक वर्ष ८१/८२ मा २ करोड १६ लाख २२ हजार रुपैयाँको २३.७२५ मेट्रिक टन केराउ आयात भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ६४ लाख २८ हजार रुपैयाँको २०.६६ मेट्रिक टन केराउ आयात भएको उल्लेख छ ।

यस्तै एचएस कोड ०७१३.१०.९० रहेको हरियो केराउ पनि आयात भइरहेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त केराउ चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ६८ लाख ७८ हजार रुपैयाँ बराबरको १३३.४२ मेट्रिक टन आयात भएको छ ।

मरिच आयात भने घटेको छ । चालु वर्षको ६ महिनामा १ करोड २८ लाख ३५ हजारको १३ मेट्रिक टन सेतो मरिच आयात भएको छ भने ४ करोड १९ लाख १९ हजार रुपैयाँको कालो मरिच आयात भएको छ ।

अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिमा १ करोड ६४ लाख १० हजार रुपैयाँको १४.४७ मेट्रिक टन सेतो मरिच र २३ करोड १२ लाख २९ हजार रुपैयाँको २६८.१९ मेट्रिक टन कालो मरिच आयात भएको थियो ।

आयात गर्ने मापदण्ड

उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले गत पुस २८ गते राजपत्रमा प्रकाशन गर्दै उद्योगहरूले कच्चा पदार्थका रूपमा प्रयोग गर्न मात्र सुपारी केराउ र मरिच आयात खुला गरेको थियो । एचएस कोड ०७१३.१०.१० को केराउ, कोड ०८०२.८०.०० को सुपारी, कोड ०९०४.११.२० को सेतो मरिच र कोड ०९०४.११.३० को कालो मरिच आयात गर्न पाउने व्यवस्था गरेको छ ।

सरकारले यी वस्तुहरूको आयातमा हुन सक्ने सम्भावित दुरुपयोग रोक्न कडा प्रशासनिक प्रक्रिया तय गरेको छ । जस अनुसार आयात अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको आवश्यकता, औचित्य र मौजुदा कच्चा पदार्थको अवस्थाबारे विस्तृत जाँचबुझ गर्नेछ । विभागले उद्योगको वास्तविक उत्पादन क्षमता र आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरेपछि मात्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आयातका लागि सिफारिस गर्नेछ ।

आयात गरिएको कच्चा पदार्थ उद्योगले अन्यत्र बिक्री नगरी औद्योगिक प्रयोजनमा मात्र सदुपयोग गरेको सुनिश्चित हुनुपर्ने सर्त छ ।

साथै आयात अनुमतिका लागि आवेदन दिन नयाँ स्थापना भएका उद्योगहरूको हकमा उद्योग दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर दर्ताको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, स्वीकृत स्किमको प्रतिलिपि र चालु आर्थिक वर्षको उत्पादन लक्ष्यको स्वघोषणा अनिवार्य गरिएको छ ।

त्यसैगरी विगतदेखि सञ्चालनमा रहेका उद्योगहरूले उद्योग दर्ता र कम्पनी अद्यावधिक प्रमाणपत्रका साथै पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, उद्योगको उत्पादन क्षमता र सञ्चालन अवस्थाको विवरण पेस गर्नुपर्नेछ । सञ्चालित उद्योगहरूले अघिल्लो आर्थिक वर्षमा आयात गरिएको कच्चा पदार्थको परिमाण, त्यसको उपयोग र बाँकी रहेको मौज्दातको विवरणसमेत खुलाउनुपर्ने प्रावधान राखिएको छ ।

ranechhap