वि.सं.२०८३ वैशाख ३१ बिहीवार

तीन वर्षदेखि सुदूरका स्रष्टाको राजधानीमा अभिनन्दन, यसपटक को–को हुँदै छन् सम्मानित ?

khanepani

कैलाली । विगत तीन वर्षदेखि सुदूरपश्चिम तथा कर्णालीबाट उदाएका स्रष्टाको सम्मानका लागि काठमाडौँमा भव्य कार्यक्रम हुने गरेको छ ।

स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको नामबाट भइरहेको कार्यक्रमले प्रदेशको संस्कृति र कलालाई राष्ट्रियस्तरमा पुर्याउन भूमिका खेलेको देखिन्छ ।

पुस २६ गते नेपाल पुलिस क्लबमा आयोजना हुने तेस्रो संकरणको लागि तीव्र तयारी भइरहेको आयोजक सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । उनले सुदूरपश्चिम र कर्णालीको भाषा साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिनाउन स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा विभिन्न विधाबाट पहिचान बनाउन सफल सुदूरपश्चिम र कर्णालीका स्रष्टालाई अभिनन्दन गरिने छ ।

सुदूरपश्चिमका वरिष्ठ साहित्यका मनिराज जोशीलाई (साहित्य)तर्फ अभिनन्दन गरिने तयारी छ । प्रेम देव गिरिलाई (लोक सङ्गीत), टेकराज अबस्थी (देउडा गायक), चित्रांग थापा (पत्रकार), कृष्ण कँडेल (सङ्गीत तथा संस्थागत) , ऋचा शर्मा (चलचित्र) र युवा प्रतिभा सम्मान उरुसा भण्डारीलाई दिन लागिएको हो ।

‘अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘अघिल्ला दुई वर्षका कार्यक्रम निकै राम्रो भएपछि हामीलाई यस वर्ष पनि आयोजना गर्न उत्साह मिलेको हो । प्रत्येक वर्ष हामी लोक संस्कृति चिनाउने गरी कार्यक्रम आयोजना गर्छौ ।’

अघिल्लो वर्ष भदौ २९ गते साहित्यबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, चलचित्र क्षेत्रबाट बिराज भट्ट, खेलकुदबाट दीपक विष्ट, लाइभ देउडाबाट नेत्रराज शाही, पर्दा पछाडिका नायकका रूपमा निर्देशक भीम थापा, गायन क्षेत्रबाट सुदूरपश्चिमका लाल बहादुर धामी कर्णालीका टीका पुन र सुरेश शाही सम्मानित गरिएको थियो ।

मौलिक लोक सङ्गीतबारे कलम चलाएको भन्दै पत्रकार भानुभक्त आचार्य र कमल सरगम चौलागाईँ पनि सम्मानित भएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले स्रष्टाहरूलाई अभिनन्दन गरेका थिए । त्यसघि भदौ ४ गते आयोजना गरिएको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आर. डी. प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी, कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी र सङ्गीता रोकाय लगायतलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा पञ्चेबाजा, छलिया नृत्य, र देउडा गायनका साथै राना थारुको संस्कृति झल्किने प्रस्तुतिसमेत हुने गरेको छ । सुदूर–कर्णालीका लोकप्रिय कलाकारको प्रस्तुति पनि रहने अध्यक्ष अवस्थीले जानकारी दिए।

कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । राजधानीबाट सुदूर–कर्णालीको संस्कृति विश्वव्यापीकरण गर्ने र मौलिक संस्कृति जगेर्नाका लागि संस्था स्थापना गरिएको उनले बताए । संस्था स्थापनादेखि नै विभिन्न सिजनशील कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

ranechhap