वि.सं.२०८३ वैशाख २६ शनिवार

एमाले त्यागेको घोषणा गर्दै वृजेश गुप्ताले भने, ‘राजनीतिबाटै सन्‍न्यास लिन तयार छु’

khanepani

रुपन्देही । २०७९ को निर्वाचनको मुखैमा एमाले प्रवेश गरेर उम्मेदवार बनेका वृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन् । कपिलवस्तुको क्षेत्र नम्बर २ बाट विगतमा चारपटक चुनाव जितेका उनी एमालेमा आएपछि भने हारेका थिए ।

२०७८ चैतमा हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी त्यागेर उनी एमालेमा आएका हुन् । एमालेले तत्कालै उनलाई कपिलवस्तु २ मा टिकट दिएको थियो । तर, उनी कांग्रेसका सुरेन्द्रराज आचार्यसँग पराजित भए । त्यसअघि २०७४ सालको चुनावमा उनले एमालेको चुनाव चिन्हबाट लडेर कांग्रेसका आचार्यलाई हराएका थिए । पार्टी प्रवेश नगरे पनि उनी एमाले सांसदकै रूपमा थिए ।

०७८ चैत १४ गते एमाले अध्यक्ष ओलीले कपिलवस्तु नै पुगेर बृजेशलाई एमालेमा स्वागत गर्दा निकैए चर्चा भएको थियो । त्यो बेला उनी संघीय सांसद नै थिए । पटक-पटक पार्टी फेर्दै फेर्दै उनी एमालेमा बास बस्न आएका हुन् ।

राप्रपाका नेता स्वर्गीय भगवानदास गुप्ताका छोरा हुन् बृजेश । उनी पनि सुरूमा राप्रपा नै थिए । ०५६ सालमा भएको संसदीय चुनावमा पहिलोपटक राप्रपाबाट विजयी भए । ०६४ सालमा मधेस आन्दोलनको प्रभावपछि तत्कालीन तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) तिर लागे । सोही पार्टीबाट ०६४ को पहिलो संविधानसभाको चुनाव जित ।

त्यस्तै, २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पनि तमलोपाबाट जितेका उनी २०७४ सालमा एमालेको सूर्य चिह्नबाट जिते । त्यसबेला हृदयेश त्रिपाठीले नेतृत्व गरेको स्वतन्त्र समूहले एमालेसँग विभिन्न बुँदामा सहमति गरी सूर्य चिन्ह लिएर उम्मेदवार उठाएको थियो ।

पार्टी फेर्दै पटक-पटक चुनाव जितेका गुप्ताले एमालेबाट भने जित्न सकेनन् । त्यसयता उनी पार्टीमा निस्क्रिय बन्दै गएका थिए । गुप्ताले आफूले एमाले छाडिसकेको हालै स्वीकारोक्ति गरेका छन् । एमालेबाट किन उनको नाम उम्मेदवार सिफारिस भएन भन्ने चर्चासँगै उनले सामाजिक सञ्जालमार्फत आफू एमालेबाट अलग बनेको जनाउ दिएका हुन् ।

जेन-जी आन्दोलनकै समयमा उनले पार्टी त्याग्ने संकेत गरेका थिए । एमालेको केन्द्रीय सदस्य भएपनि पार्टीको ११ औं महाधिवेशनमै सहभागी भएनन् । एमाले स्रोतका अनुसार उनले पार्टीमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भएको छैन ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विगत केही दिनयता सामाजिक सञ्जालमा मेरो बारेमा उठेका विभिन्न विचारहरू, सकारात्मक होस् वा नकारात्मक, म सबैलाई हृदयदेखि नै नियालिरहेको छु । ती सबैमा मलाई लिएर जिज्ञासा, चिन्ता, आशा र कहिलेकाहीँ निराशासमेत मिसिएको पाएको छु । यो देख्दा मेरो मन अमिलिन्छ, तर साथै गर्व पनि लाग्छ किनकि यो सबै तपाईंहरूको माया र अपेक्षाको प्रमाण हो ।’

‘म स्पष्ट गर्न चाहन्छु मलाई निर्वाचनमा विजयी बनाउने पनि तपाईंहरू नै हुनुहुन्छ, र पराजित गर्ने पनि तपाईंहरू नै । जनता नै मेरो सबैभन्दा ठूलो शक्ति र मार्गदर्शक हुनुहुन्छ । तपाईंहरू मेरो सोचको आधार, मेरो आदर्शको स्रोत, मेरो दुःख-सुखको साझेदार हुनुहुन्छ । तपाईँहरूले जे चाहनुहुन्छ, म त्यही गर्न तयार छु किनकि मेरो जीवनको हरेक पाइला तपाईंहरूकै लागि हो ।’

उनले आफू विगतमा एउटा साधारण इन्जिनियर भएको सम्झिएका छन् । आगामी राजनीतिक यात्राबारे भने खुलेका छैनन् । अब आफ्नो सम्पूर्ण जीवन जनताको सेवा र समर्पणमा अर्पित गर्ने गुप्ताको भनाइ छ ।

यो राजनीतिक यात्रामा मलाई ल्याउने काम पनि यिनै मेरो प्यारा क्षेत्रवासीहरूले गर्नुभयो । तपाईंहरूको विश्वास र उत्साहले नै मलाई यो बाटोमा डोर्‍यायो । अब मेरो सम्पूर्ण जीवन तपाईंहरूको सेवा र समर्पणमा नै अर्पित छ । यो कुरा म हृदयबाट भन्छु तपाईंहरूबिना म केही पनि होइन ।

हो, ममा पनि मान्छे भएर केही कमी-कमजोरी अवश्य होलान् । तिनै कमजोरीहरूले गर्दा यसपटक तपाईंहरूले मलाई प्रतिनिधि सभा सदस्यको रूपमा योग्य ठान्नु भएन । यदि तपाईंहरूको मनमा म अब राजनीतिबाट सन्‍न्यास लिनुपर्छ भन्ने भावना छ भने, मलाई त्यो पनि स्वीकार्य छ । खुसी-खुसी म पछाडि हट्न तयार छु ।

तर, यो कुरा कहिल्यै नबिर्सनुहोस् मसँग सपना छ, जीवन छ । हरेक पढेलेखेका व्यक्तिमा जस्तै ममा पनि देश र समाजलाई राम्रो बनाउने सोच र योजना प्रशस्त छन् । केवल सही अवसर र परिस्थिति नमिलेका कारण ती सपनाहरू अझै पूर्णरूपमा फल्न सकेका छैनन् ।

देशमा घटेका विभिन्न घटनाक्रमहरूले मेरो मनलाई गहिरो रूपमा छोयो । जेनजीका युवा साथीहरूको अनुरोधले मलाई नयाँ जिम्मेवारीको बोध गरायो । तिनै घटना र तिनै युवाहरूको आवाजले मलाई अर्को बाटो अपनाउन बाध्य बनायो । म त्यो बाटोमा हिँडिरहेको छु र सधैँ हिँडिरहनेछु किनकि मैले सबैको सम्मान गर्न सिकेको छु, सबैको भावनालाई आत्मसात् गर्न सिकेको छु ।

ranechhap