काठमाडौँ । ७ वटा जेनजी समूहले एकता घोषणा गर्दै आफू र जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई उनीहरुले सङ्घर्ष गर्ने अन्तिम चेतावनी समेत दिएका छन् ।
एकतापछि बनेको ‘जेनजी एकता अभियान नेपाल’की संयोजक सुप्रीया नेपालीले सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा संलग्न भएको नाममा जेनजीहरुलाई छानिछानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
संयोजक नेपालीले आफूहरूको मर्म अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्कीको राजीनामासमेत मागेकी छन् ।
पूर्व प्रहरी महानिरीक्षक(आइजीपी) सर्वेन्द्र खनालले जेनजीको बलबाटै बनेको सरकारले उनीहरूलाई नै आतङ्कित बनाउन थालेको भन्दै आक्रोश व्यक्त गरे ।
खनालले विद्रोहले नेपालका भ्रष्ट र दलालहरूलाई सच्चिन चेतावनी दिएको तर त्यस्तो नदेखिएको बताउँदै भने,“अहिलेको सरकार र ओली सरकारकाबिच कुनै फरक भएन, यसले गोली हान्न आदेश दिने ओली र उहाँको सरकारका जिम्मेवारलाई पक्रेर अनुसन्धान गर्नुपर्छ ।”
जेनजी एकता अभियान नेपालका प्रवक्ता विरजन विश्वकर्माले जेनजी परिषद्, जेनजी २.०, जेनजी पिपुल, रियल जेनजी मुभमेन्ट नेपाल, जेनजी नेपाल, एनटेक–जेड, र अछाम जेनजी ग्रुप गरेर ७ वटा समूहबिच एकता भएको जानकारी दिए ।
सल्लाहकार मेगराज खत्रीले देशको विषम परिस्थितिलाई मध्यनजर गरेर सबै जेनजी एकठाउँमा आउने अभियान चलाएकोप्रति खुसी व्यक्त गरे ।
वर्तमान सरकारमा पनि विगतमा जस्तै देशी विदेशी शक्तिले खेल्न थालेकोप्रति चनाखो हुनसमेत जेनजीलाई सुझाव दिए ।
जेनजी कुन्दन कुशवाहले पछिल्लो समयमा सरकारले परिवर्तनकारीहरूमाथि नै डण्डा वर्षाउन लागेको भन्दै सबै एक ठाउँमा आएर सङ्घर्ष गर्नुपर्ने धारणा राखे ।
जेनजी मिनबहादुर खड्काले विभिन्न समूहमा विभक्त भएका जेनजीहरु एक ठाउँमा आएर कुशासन र भ्रष्टाचारविरुद्ध लड्नु पर्ने धारणा राखे ।
खड्काले वर्तमान अन्तरिम सरकारले आफूहरूका माग पूरा गर्न नसकेको भन्दै सरकारको औचित्य समाप्त भइसकेकाले प्रधानमन्त्रीको राजीनामा मागे ।
जेनजी रविकिरण हमालले वर्तमान सरकारले जेनजीका मर्म र भावना अनुसार काम नगरेको भन्दै सुशीला कार्कीले राजीनामा दिनुपर्ने बताए ।
सल्लाहकार राजन घिमिरे, विवि पराजुली(बद्री), गणेश भट्टराई, डा.लक्ष्मी ओली, सुशीला खत्री र माधव ठकुरीले सबै जेनजी एकमत हुँदै सङ्घर्षमा उत्रन सुझाव दिए ।
एकता कार्यक्रममा प्रकाश रावल, सुशील भण्डारी, कृपा काफ्ले, हेमराज न्यौपाने, शिशिर महरा, रामचन्द्र जोशी, सुरेन्द्र घर्ती, सुशील सिंह, जीवन सोडारी र विनोद साेडारीले सबै जेनजीहरु एकतामा आएर माग पूरा गर्न दबाब दिनुपर्ने धारणा राखे ।









































