काठमाडौँ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले देशका विद्यालयहरूमा बुर्का र नकाब लगाउन प्रतिबन्ध लगाउने प्रस्ताव अघि बढाउने घोषणा गरेकी छन्।
साथै, विद्यालयमा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने र विद्यालय प्रणालीमा समाहित हुन कठिनाइ भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकलाई इटालेली भाषा सिक्न अनिवार्य गर्ने प्रस्तावसमेत अघि सारिने उनले बताएकी छन्।
मेलोनीले रोममा आयोजित आफ्नै दलको युवा सङ्गठनको कार्यक्रममा इटालीमा बस्न आउने व्यक्तिले इटालेली भाषा सिक्नुका साथै देशको संस्कृति बुझ्न र नियमको सम्मान गर्नुपर्ने बताएकी हुन्। उनका अनुसार भाषा र संस्कृतिसँगको समायोजनलाई प्राथमिकता दिनुपर्नेछ।
प्रस्तावमा बुर्का र नकाबलाई मात्र समेटिएको छ भने हिजाबबारे केही उल्लेख गरिएको छैन। बुर्काले शरीरसहित अनुहार ढाक्ने र नकाबले आँखाबाहेक अनुहार ढाक्ने गर्छ। सरकारले प्रस्ताव स्वीकृत गरेपछि त्यसलाई कानुनी रूप दिन संसद्को अनुमोदन आवश्यक पर्नेछ।
प्रवासन र सांस्कृतिक समायोजनका विषयमा कडा नीति अपनाउँदै आएकी मेलोनीले आगामी आमनिर्वाचनअघि यस्ता नीतिगत कदम अघि सारेकी हुन्। उनको सरकारले साना तथा मध्यम आकारका कार र स्कुटरमा लाग्ने सम्पत्ति कर छुट दिनेसहितका अन्य प्रस्ताव पनि अघि बढाइरहेको छ।







































