काठमाडौं । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएका परिवारको पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विस्थापित परिवारको समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको हो।
बाढी पीडितको पुर्नस्थापनाका लागि मेलम्ची आयोजना र त्यसका जिम्मेवार निकाय अन्तर्गत २०८१ साल असोज २१ गते खानेपानीमन्त्री प्रदिप यादव, खानेपानी सचिव प्रमिलादेवी बजाचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न प्रसाद लामिछाने, सिन्धुपाल्चोक २ का प्रदेश सांसद कृष्ण कुमार तामाङ, हेलम्वु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, हेलम्बुका राजनीतिक दलका प्रमुखसहितको संलग्नतामा भएको वार्ता र सम्झौता कुनै पनि कार्यान्वयनमा हालसम्म नआएकोले पटकपटक घचघच्चाउदा पनि सुनुवाई नभएको समितिले जनाएको छ ।
कतैबाट सुनुवाइ नभएपछि बाध्य भएर राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गर्दै आयोजनाको शाखा कार्यालयमा तालाबन्दी गरेको जनाउँदै काठमाडौंबासीसँग माफी मागेका छन् । समितिका सचिव घिरिङ ज्याल्बु लामाले मुहान बन्द र तालाबन्दीको कारण पर्न गएको असुविधाको लागि क्षमा माग्दै यो कार्य हेलम्बु बासीको रहर नभई बाध्यता भएको बताए ।
राज्यले समस्या समाधान गर्न संवेदनशिलता अपनाउन आग्रह गरेका छन् । पीडितहरूमाथि जवरजस्ती गरेर थप क्षति भएमा सरकार र सम्बन्धित निकाय आफैँ जिम्मेवार हुने बताए ।
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।
उनले भने, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नु भएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोेदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।”
विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो ।
मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।










































