वि.सं.२०८३ असोज ६ मंगलवार

आगामी शुक्रबारदेखि सोमबारसम्म कहाँ–कहाँ हुँदैछ अति भारी वर्षा ?

khanepani

काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ ।

हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको बिभागले जनाएको छ । यस प्रणालीको मुख्य असर विशेषगरी असोज ९, १० र ११ गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको महाशाखाका मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए ।

गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए । उनले लुम्बिनीको दाङ भन्दा पूर्वी भूभाग (नवलपुरसम्म), कर्णालीको पूर्वी भूभाग, र सुदूरपश्चिमका दक्षिणी पहाडी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको उल्लेख गरे ।

बागमती प्रदेशको चितवन आसपास तथा पहिले नै बाढी पहिरोले प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि असर पुर्‍याउन सक्ने उनको भनाइ छ ।

मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यो केही दिन पछाडि धकेलिने देखिने महाशाखाले जनाएको छ ।

ranechhap