वि.सं.२०८३ असोज ६ मंगलवार

बाढीले बगाएको शवको मुन्द्रा लुट्ने दुई जनासँग चितवन अदालतले माग्यो २५ हजार धरौटी

khanepani

चितवन । भदौ १० को विनाशकारी रसुवा बाढीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनको मुन्द्रा लुटेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिसँग जिल्ला अदालत चितवनले २५/२५ हजार धरौटी मागेको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले सोमबार नारायणी नदी किनारमा भेटिएको महिलाको शवबाट सुनको मुन्द्रा चोरी गर्ने मदन गुरुङ र उमेश चौधरीलाई जनही २५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

गत भाद्र १० गते रसुवाको भोटेकोशी नदी हुँदै नारायणी नदीमा आएको भीषण बाढीमा तैरिरहेको एक महिलाको शव चितवनको भरतपुर महानगरपालिका वडा नं. २ स्थित नारायणी नदी किनारमा अडिएको थियो । बाढी हेर्न गएका मदन गुरुङ र उमेश चौधरीको नजर भने मृतकको कानमा रहेको सुनको मुन्द्रामा पर्यो ।

उनीहरूले मानवीय समवेदना समेत भुलेर बाँसको लाठीले शव उचाल्दै कानको मुन्द्रा थुतेका थिए । सो कारुणिक र अमानवीय हर्कतको फोटो, अडियो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरू दुवै जनाको साथबाट २/२ वटा गरी जम्मा ४ वटा सुनको मुन्द्रा बरामद गरेको थियो ।

अदालत र अनुसन्धान अधिकारीसमक्ष दिएको बयानमा दुवै जनाले आफ्नो कसूर स्वीकार गरेका थिए । बाढीले मानिस र सरसामान बगाएर ल्याइरहेको हेर्न जाँदा शवको कानमा सुनको मुन्द्रा देखेर लोभ जागेको उनीहरूले बयानमा उल्लेख गरेका छन् ।

उमेश चौधरीले बाँसको लाठीले शवलाई पानीमा उचाल्ने र मदन गुरुङले कानबाट मुन्द्रा थुत्ने गरी सल्लाह गरेर मुन्द्रा निकालिएको र पछि दुवै जनाले २/२ वटा मुन्द्रा बाँडेर लिएको बयानमा स्वीकारेका अदालतको मिसिलमा उल्लेख गरिएको छ ।

जिल्ला अदालत चितवनले प्रहरीको किटानी प्रतिवेदन, बरामदी मुचुल्का, सामाजिक सञ्जालका दृश्य र प्रतिवादीहरूको साविती बयानका आधारमा तत्काल पुर्पक्षका लागि थुनामा राख्न आवश्यक नदेखिए पनि मुद्दाको अन्तिम किनार नभएसम्मका लागि धरौटी माग गरिएको आदेशमा उल्लेख छ ।

ranechhap