वि.सं.२०८१ चैत ३ आइतवार

सगरमाथा आधार शिविरबाट फर्केका थप ४ जनामा कोरोना

काठमाडौं । सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताइन्।

सगरमाथा आधार शिविरमा पुगेका उनीहरु शंकास्पद लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए।

सोमबार एण्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ।

सोलुखुम्बु ठेगाना भएका उनीहरु पर्यटकको सहयोगीका रुपमा सगरमाथा क्षेत्र गएको पाइएको छ।

यससँगै सगरमाथा आधार शिविरबाट फर्किएका २० जनामा संक्रमण पुष्टि भएको छ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीमा भने कोरोनाको कुनै पनि प्रभाव परेको छैन।

शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही र उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उनको भनाइ छ।