काठमाडौं । जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शासन सत्ताको बागडोर सम्हाल्न आउने भएकी छन् । योसँगै नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने करिब निश्चित भएको छ ।
तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म राष्ट्रपति कार्यालय, शितलनिवासमा बसेको वार्ता निष्कर्षविहीन भएको छ । जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान रह्यो भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिए ।
यस्तोमा शुक्रबार बिहान फेरि छलफलमा बस्ने गरी वार्ता टुंग्एिको राष्ट्रपति कार्यालय स्रोतले बतायो । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाम प्रस्ताव गरेका थिए ।
प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिको सन्देश राष्ट्रपति पौडेलसम्म पुर्याएका थिए । त्यसपछि बिहीबार अबेरबाट राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरुसँग परामर्श थालेका थिए ।
त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरुले जेनजी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए । तर, दलका अधिकांश नेताले उनलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्ध गर्नुपर्ने मत राखे ।
बिहीबार बेलुकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवास पुगेका थिए । उनीसँगै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि उपस्थित थिए ।
माओवादी नेताहरु शीतलनिवास पुगेपछि राष्ट्रपति कार्यालयबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको थियो । राति ११ बजे उनीहरुलाई कार्यालयबाट बोलाइएपछि फरकफरक ठाउँमा रहेका उनीहरुले टेलिफोनमार्फत नै पार्टीको मत राखेका थिए ।
‘शीतलनिवासमा वर्षमान पुनजीको मोबाइलबाट प्रचण्डजीले पनि कांग्रेस नेताहरुलाई फोन गर्नुभएको थियो,’ कार्यालय स्रोतले भन्यो, ‘त्यसक्रममा नेताहरुले नयाँ सरकार गठनबारे कांग्रेसको अडान प्रस्तुत गर्नुभयो ।’
स्रोतका अनुसार, कांग्रेस नेताहरुले अहिले उत्पन्न परिस्थितिमा नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका छन् । तर, त्यसका लागि संसद् विघटन नगरी कार्कीलाई अघि बढाउने बाटो खोज्नुपर्ने बताएका छन् ।
‘अहिले जेनजीले प्रस्ताव गरेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाएर जाँदा समेत हामीलाई आपत्ति छैन,’ कांग्रेस नेताहरुको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तर, त्यसलाई अहिलेको संविधानको फ्रेमभित्रै रहने गरी अघि बढाउनुपर्छ भन्ने उहाँहरूको कुरा छ ।’
स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरु सकरात्मक रहेको बताएका थिए । ‘तर, कांग्रेसले आफ्नो धारणा स्पष्ट गरे सहज हुने उहाँको कुरा थियो,’ स्रोतले भन्यो, ‘त्यसपछि कांग्रेस नेताहरुले संविधानको फ्रेमभित्र रहने गरी विकल्प समेत प्रस्तुत गरेका थिए ।’
त्यो भनेको संसद्बाट संविधानमा बाधा अड्काउ फुकाउने सम्बन्धी संक्रमणकालीन व्यवस्था गर्ने भन्ने प्रस्ताव भएको स्रोतको भनाइ छ ।
‘संसद्ले नै नयाँ प्रधानमन्त्रीलाई वैधानिकता दिने गरी अघि बढ्नुपर्छ भन्ने बटमलाइन रह्यो, त्यसो हुँदा संसद्लाई विघटन गर्ने भन्ने भएन,’ छलफलमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘संसद्को सदस्य नरहेको व्यक्तिलाई निश्चित उद्देश्य र निश्चित समयावधि प्रधानमन्त्री बनाउन सकिन्छ भनेर संक्रमणकालीन व्यवस्था गर्ने विषयमा दलहरु सहमत भएका छन् ।’
तर, जेनजी प्रतिनिधिहरुले चाहिँ संसद् विघटन नगरी बाँकी प्रक्रिया अघि बढ्न नसक्ने अडान राखेका छन् । ‘संसद्मा भएका व्यक्ति भनेका २०/२५ वर्षदेखि कुनै न कुनै राजनीतिक पोजिसनमा बसेका व्यक्ति हुन्, उनीहरुले नतिजा नदिएकैले जनेजी आन्दोलन भएको हो,’ जेनजी प्रतिनिधि रक्षा बम भन्छिन्, ‘आन्दोलनको मर्म नै संसद्प्रति हामीलाई विश्वास छैन भन्ने हो, त्यही कारण संसद् विघटन हुनुपर्छ भन्ने हो ।’
जेनजीले रुचाएका बालेन शाहले समेत सामाजिक सञ्जालमार्फत दुईपटक संसद् विघटन विना वार्तामै नबस्न भनेका थिए । उनले सेना प्रमुखसँग वार्तामा बस्न तयार रहन भन्दै त्यसअघि संसद् विघटन भएको हुनुपर्ने उल्लेख गरेका थिए । यद्यपि, शीतलनिवासमा भएको सहमतिपछि बालेनको कुनै प्रतिक्रिया आएको छैन ।
जेनजी आन्दोलनमा देखिएको हामी नेपाली समूहका संयोजक सुदन गुरुङले समेत आफूहरुको बटमलाइन नै संसद् विघटन भएको बताएका छन् । ‘हामीले आफ्ना मागहरु सूचीबद्ध गरेरै पठाएका थियौं, त्यसमा पहिलो नम्बरमै यो विषय उल्लेख छ,’ उनले भने, ‘त्यसबाट दायाँबायाँ नहोस् भनेका छौं ।’
भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका जेनजीले स्वतः स्फूर्त सडक प्रदर्शन घोषणा गरेका थिए ।
सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । अहिले मृत्यु हुनेको संख्या ३६ पुगिसकेको छ ।
मंगलबार प्रशासनको कर्फ्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए । पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भएको थियो ।






































