काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
बिहीबार रसुवा बाढीपछिको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने विषयमा घिसिङले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सुरुङ भित्र उद्धार गर्न आफुले उपकरण र दक्ष उद्धार टोली परिचालन गर्नुपर्ने सुझाव दिएको बताए । घिसिङले उद्धारका लागि कुनै विशेष प्रविधिको आवश्यकता नरहेको प्रधानमन्त्रीलाई बताएको जानकारी दिए ।
बुधबार प्रधानमन्त्री शाहले संसदमा बोल्दै सुरुङबाट उद्धारको प्रविधि विश्वमा नै नरहेको अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ ।
घिसिङले उद्धारमा मुख्य चुनौती जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलसम्म पुर्याउनु रहेको बताउदै भने- ‘कुनै विशेष प्रविधि चाहिने होइन, सामान्य उपकरण र दक्ष उद्धार टोलीबाटै काम गर्न सकिन्छ ।मुख्य समस्या जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलमा पुर्याउनु हो।’
घिसिङले उपकरण समयमै घटनास्थलमा पुर्याउन सके उद्धार कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन सकिने बताए । घिसिङ यसअघि नै जलविद्युत आयोजनाका सुरुङमा भएको उद्धारका कामको अवलोकन गरेर फर्किएका छन् ।



































