काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत एक इन्जिनियर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्जिनियर सातौँ तहका कृष्ण नारायण यादव रहेका छन्। गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग घुस मागिरहेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले यादवलाई सेवाग्राहीबाट घुसबापत ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको जनाएको छ। उनको साथबाट स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँसमेत बरामद भएको छ ।
यादवलाई भदौ १७ गते पक्राउ गरिएको हो । भदौ १८ गते विशेष अदालतको आदेशबाट घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।






































