काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्ने तयारी गरेका छन् ।
घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले न्यौपानेलाई नयाँ सामान्य प्रशासनमन्त्रीको रूपमा नियुक्त गर्न लागेका हुन् ।
‘सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘चाँडै नियुक्तीको पत्र राष्ट्रपति कार्यालय पठाइँदै छ ।’
तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ । न्यौपानेले आफूलाई मन्त्री नियुक्त गर्न लागेको अनौपचारिक ढंगले सुनेपनि औपचारिक खबर आइनसकेको बताइन् ।
‘तपाईंहरुजस्तै शुभचिन्तकहरूले बधाई भनेर फोन गर्नु भएको थियो । मैले केको बधाई भन्दा मन्त्री बन्न लाग्नुभएको छ भन्ने जवाफ पाएको छु’, न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीको सचिवालयबाट पनि अनौपचारिक रूपमा बधाई आएकाले प्रधानमन्त्रीज्युले विश्वास गर्नुभएर जिम्मेवारी दिन लाग्नु भएछ भन्ने ठानेकी छु ।’
हाल राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक रहेकी न्यौपाने २०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित बनेकी थिइन् ।
उनी त्यसवेला ९ हजार ६४ मत पाएपनि कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन् । विजयी गौलीले ९ हजार ५३८ मत प्राप्त गरेका थिए । २०७६ मा भने उनी राष्ट्रियसभामा निर्वाचित भएकी थिइन्।
गण्डकी प्रदेशका प्रभावशाली नेताहरू पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबिच भेटवार्ता भएपछि न्यौपानेको नाम मन्त्रीका लागि सिफारिस गरिएको बुझिएको छ ।
गुरुङ हाल सञ्चार मन्त्री छन् । गण्डकीमा यी दुई नेताको राजनीतिक प्रतिस्पर्धा चल्दै आएको छ ।









































