काठमाडौँ । महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यता सम्बन्धी मुद्दामा रिट निवेदक कानुन व्यवसायीले निरन्तर कानुन व्यवसायी नभएको व्यक्ति कसरी महान्यायाधिवक्ता हुन सक्छन् भनी इजलासमा प्रश्न उठाएका छन् ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा महान्यायाधिवक्ता कँडेलको योग्यता सम्बन्धी रिटमा सुनुवाइका क्रममा अधिवक्ता हेमन्तराज पहारीले सिमित समय मात्रै वकालत गरेको व्यक्ति महान्यायाधिवक्ताका लागि योग्य भए भनी प्रश्न उठाएका छन् ।
अधिवक्ता पहारीले २०६० सालमा कानुन व्यवसायी प्रमाण लिएकै आधारमा कँडेललाई महान्यायाधिवक्ता मान्न नसकिने जिकिर गरे । ‘उहाँले मुस्किलले साढे दुई वर्ष मात्रै वकालत गरेका छन् त्यसपछि आएरल्याण्ड अध्ययनका लागि सामाजिक विषयसँग सम्बन्धित विषयमा जानु भएको प्रोफाइल देखिन्छ, पहारीले भने,’कानुन त निरन्तर १५ वर्ष वकालत गरेको व्यक्ति त्यसमा पनि सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य व्यक्ति महान्यायाधिवक्ता हुन सक्छ भनेको छ । कँडेलको हकमा त्यो योग्यता पुग्दैन ।’
‘ठिकै छ वकालत नगरेको भए पनि कानुनको क्षेत्र अन्तर्गत कुनै ठाउँमा अध्यापन गराएको हकमा पनि मान्न सकिन्छ तर, उहाँ त आयरल्यान्डको होटल सञ्चालकमा लामो समय जिम्मेवारी लिएर बसेको व्यक्ति भएकाले महान्यायाधिवक्ता हुन योग्यता पुग्दैन,अधिवक्ता पहारीले भने, ‘उहाँले कुनै एउटा युट्युबमा नेपालको संविधान माथि पनि धावा बोलेको अवस्था छ । राष्ट्रको विषयमा भ्रम फैलाउने खालको अभिव्यक्ति दिनु भएको छ । यो अवस्थालाई मध्यनजर गर्दा उहाँ महान्यायाधिवक्ता हुन योग्य नै हुनुहुन्न ।’
डा. नारायणदत्त कँडेलको योग्यता नेपालको संविधानको धारा १५७(३) र १२९(५) बमोजिम नपुगेको दाबी उनले गरे । मिति २०८२ चैत २२ गते गरिएको महान्यायाधिवक्ताको नियुक्ति र सोही दिन गराइएको शपथलाई उत्प्रेषणको आदेशले बदर गर्न अधिवक्ता पहारीको माग छ ।
त्यस्तै अधिवक्ता विनोद पौडेलले नेपालको नागरिकता त्याग्ने व्यक्ति महान्यायाधिवक्ताका लागि अयोग्य भएको दाबी गरे । नागरिकता त्यागेको विषयमा प्रश्न उठेपछि न्यायाधीश कुमार रेग्मीले उहाँले नागरिकता त्यागेको कुनै त्यस्तो प्रमाण छ भनी प्रश्न गरेका थिए।
इजलासबाट सोधिएको प्रश्नमा अधिवक्ता पौडेलले गैर आवासीय नेपाली नागरिकको विधानमा गैरआवासीय नेपाली हुन के–के हुनु पर्छ भनेर उल्लेख भएको र त्यसमा नेपाली मुलको विदेशी नागरिक भनी उल्लेख हुनुले पनि उनी गैरआवासीय नेपाली भएको पुष्टि गर्ने दाबी गरे।
पहिलो कुरा उनले विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुने र त्यसरी नेपाली नागरिक नभएको व्यक्ति कानुन व्यवसायी हुन नमिल्ने दलिल अधिवक्ता पौडेलले पेस गरे । कानुन व्यवसायीको प्रमाणपत्र खारेज गर्नुपर्ने व्यक्ति महान्यायाधिवक्ता हुन अयोग्य हुने अधिवक्ता पौडेलको जिकिर थियो।
अधिवक्ता माधवकुमार बस्नेतले महान्यायाधिवक्ता कँडेल २०८२ माघ १२ गतेसम्म बेलायती नागरिक भएको जिकिर पेस गरे। ‘बेलायतमा रहेको कम्पनी खारेजका लागि फाइनल ग्याजेट नोटिस २०८२ माघ १२ गते निकालेको तथ्यले उनी केही समय अघिसम्म उहाँ बेलायतसँग आबद्धता भएको देखिन्छ, अधिवक्ता बस्नेतले भने ’भौतिक रूपमा कँडेल नेपालमा भएको देखिए पनि उहाँ बेलायतकै नागरिकको हैसियतमा देखिन्छ ।’ यस कारण पनि कँडेल महान्यायाधिवक्ता हुन अयोग्य रहेको अधिवक्ता बस्नेतको दाबी छ।
धारा १५७ (३)मा महान्यायाधिवक्ता हुन सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता हुनुपर्ने उल्लेख छ । संविधानको धारा १२९(५) मा ‘सर्वोच्च अदालतको न्यायाधीशको योग्यता तोकिएको छ।
उक्त धारामा ‘कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १५ वर्ष न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्को रूपमा ख्यातिप्राप्त वा न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिन्छ’ भनिएको छ।








































