सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रको द्रुत रुपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।
सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको गाउँ थामेमा साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भनिन्, ‘सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिँदै जानु भनेको केवल नेपालको चिन्ता होइन, यो सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।’
सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले अहिलेको यात्रालाई निकै भिन्न अनुभवको रूपमा लिएकी छन् ।
“पहिलो पटक आएँ, तब हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो। अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो लाग्यो। हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला भएका छन्। मौसम परिवर्तन भएको छ। यो सबै परिवर्तन एकदमै गम्भीर छ’ उनले भनिन् ।
जलवायु परिवर्तनको प्रत्यक्ष मार : थामे बस्ती
हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामे जस्ता बस्तीहरूले प्रत्यक्ष रुपमा झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पुर्याएको थियो । दर्जनौं घर विस्थापित भए, विद्युत् संरचना ध्वस्त भयो, सडक सञ्जाल टुट्यो, र बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुगेको थियो ।
राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भनिन्, ‘यस्ता हिमाली बस्तीको पुनःनिर्माणमा केवल नेपाल सरकारको प्रयास काफी हुँदैन । यो संकट सँगै लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।’
पूर्वसूचना प्रणाली जडानको आग्रह
बाढी, हिमताल विस्फोट, र हिउँपहिरो जस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । “हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ। प्रविधिको सदुपयोग जरुरी छ ।’
सगरमाथाको संरक्षणमा विश्वको उत्तरदायित्व
राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानव जातिको साझा धरोहर भएको उल्लेख गरिन् ।
‘हामी जस्तो आरोहीहरूले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौं, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौं । अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ’, उनले चेतावनी दिइन् ।
राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरण विज्ञ, आरोही, र स्थानीय प्रतिनिधिहरूले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकोमा एकमत जनाए ।
सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था, तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।
थामेमा आयोजित यो सम्मेलन केवल हिमाली आरोहीहरूको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली संकट र समाधानको विमर्शको थलो बन्यो । सम्मेलनमा प्रस्तुत गरिएका तथ्यांक अनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा लगभग तापक्रम बढ्दै गएको छ । जसको प्रत्यक्ष असर हिमनदीको पग्लनमा परेको छ ।
राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उनको अन्तिम सन्देश थियो, ‘हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो। यदि हिउँ हरायो भने, हामीले पृथ्वीको भविष्य गुमाउँछौं। सगरमाथा बचाउन हामी सबैको साझा उत्तरदायित्व हो ।’
उक्त सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । उनले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
साथसाथै फाउन्डेसनले तिनै तहको सरकारसँगको समन्वयमा मंगलबार थामेमा आयोजना गरेको उक्त आरोही सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वातावरणीय संकटबारे जागरुकता फैलाउन आवस्यक रहेको उल्लेख गर्दै शुभकामना सन्देश पठाएका थिए । उक्त सम्मेलनलाई नेपाल सरकारले आगामी जेठ २ गतेबाट आयोजना हुने ‘सगरमाथा संवाद’को पुर्व कार्यक्रमको रूपमा अपनत्व लिएको छ ।









































