वि.सं.२०८३ वैशाख ८ मंगलवार

५७ जना नेताले पैसा खाएर कम्युनिस्टलाई भोट हालेको आरोप, जिल्ला समितिले माग्यो स्पष्टीकरण

khanepani

कैलाली । नेपाली कांग्रेस कैलालीभित्रको आन्तरिक कलह र अन्तर्घातको विषयले अहिले उग्र रूप लिएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार नरनारायण शाह (मनु) ले आफ्नै पार्टीका ५७ जना नेता तथा कार्यकर्ताले विपक्षी उम्मेदवारसँग आर्थिक लेनदेन गरेर मत बेचेको गम्भीर आरोप लगाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको हो।

शाहले धनगढीको समर्पण मिडियामा अन्तर्वार्ता दिँदै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेबाट मोटो रकम लिएर कांग्रेसका जिम्मेवार व्यक्तिहरूले नै घात गरेको खुलासा गरेका थिए। यो सनसनीपूर्ण खुलासापछि नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरेको छ।

जिल्ला सभापति नारायण दत्त भट्टले जारी गरेको विज्ञप्तिमा उम्मेदवार शाहले लगाएको आरोपका सम्बन्धमा सत्यतथ्य स्पष्ट पार्न र आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइएको छ। निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन र समानुपातिक मत बढाउन जिल्लाले पटक-पटक निर्देशन दिए पनि आफ्नै नेताहरूमाथि लागेको यस्तो गम्भीर आरोपले पार्टीको छविमा धक्का पुगेको जिल्ला समितिको ठहर छ।

जिल्ला कार्य समितिले यसअघि नै चैत १ गते जिल्लाका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार र क्षेत्रीय कार्य समितिलाई निर्वाचनको परिणाम, पराजयका कारण र आगामी सुधारका उपायहरू समेटिएको प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको थियो। प्रतिवेदन आउनुअगावै उम्मेदवारले सार्वजनिक रूपमा ५७ जना नेताहरूको नामै मुछेर आर्थिक लेनदेनको कुरा बाहिर ल्याएपछि कांग्रेसभित्रको विवाद अब सडकमा पुगेको छ।

ranechhap