काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ।
उनले भनेका छन्, ‘व्यवसायी दीपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सोसल मिडिया प्रयोगकर्ताहरू भ्याइ नभ्याई लागिरहेका थिए। तर अनुसन्धान गर्दै जाँदा उहाँहरू सँग सम्बन्धित कसैको कनेक्सन देखिएन दीपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुधन गुरुङ सँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो।’
उनले गौरीबहादुर कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको उल्लेख गरेका छन्।
उनले थपेका छन्, ‘दीपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ। यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नु भन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदै छ।’
उनले गृहमन्त्री पद आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो जाने जिकिर गरेका छन्।








































