वि.सं.२०८१ चैत ११ सोमवार

दुई दिनमा युएसएआइडीका २३१ परियोजना रद्द, अमेरिकी अदालतमा आज सुनुवाइ

एजेन्सी । युएसएआइडी अन्तर्गतका कार्यक्रम र परियोजना सम्झौता रद्द प्रक्रियालाई तीव्र बनाइएको छ।

नेपालमा पनि सञ्चालित यस्ता परियोजना गत सोमबारदेखि क्रमश रद्द भइरहेका छन्।

गत सोमबार ऊर्जा नेपाल, युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ (इजिएल) र जलजंगल कार्यक्रम रद्द भएको पत्र आएको थियो।

विभिन्न उद्देश्य राखेर सञ्चालन गरिएका कार्यक्रमहरूमध्ये विश्वभर पछिल्लो दुई दिनमा २३१ वटा परियोजनाको सम्झौता रद्द भएको छ।

अमेरिकी अदालतमा बुझाएको विवरण अनुसार ठूलो लागत मूल्य बराबरका २३१ परियोजना फेब्रुअरी ११ र १२ मा रद्द भएको उल्लेख छ।

ट्रम्प प्रशासनको आदेशअनुसार युएसएआइडीद्वारा आर्थिक सहयोग गरेर सञ्चालन गरिएका धेरै कार्यक्रहरू बन्द गरिएको थियो। करिब ८०० परियोजना बन्द गर्ने उल्लेख गरिएकोमा केही कार्यक्रमलाई निरन्तरता दिन तयार भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।

अहिलेसम्म भने २३१ परियोजना रद्द गरिएको विवरण उपलब्ध गराएको छ।

अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहालका अनुसार अमेरिकाको जिल्ला अदालतमा हाल युएसएआइडीको भविष्यसँग सम्बन्धित तीन वटा मुद्दा विचाराधीन छन्।

एड्स भ्याक्सिन एड्भोकेसी कोएलिसनले युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ स्टेट विरूद्ध र ग्लोबल हेल्थ काउन्सिलले डोनाल्ड ट्रम्पविरूद्ध दुई मुद्दा बाइडेनले नियुक्त गरेका डेमोक्र्याट पृष्ठभूमिका न्यायाधीश अमिर एच. अलीको इजलासमा छन्।

त्यस्तै अमेरिकन फेडेरेसन अफ गभर्मेन्ट इम्प्लोइजले दायर गरेको मुद्दा ट्रम्पले नै नियुक्त गरेका रिपब्लिकन पृष्ठभूमिका न्यायाधीश कार्ल जोन निकोल्स को इजलासमा रहेको छ।

दाहालका अनुसार ग्लोबल हेल्थ काउन्सिलले दायर गरेको मुद्दामा युएसएआइडीका परियोजना रद्द गर्ने वा नगर्नेसम्बन्धी अस्थायी प्रतिबन्ध आदेश जारी गर्ने वा नगर्ने विषयमा सुनुवाइ फेब्रुअरी १३ तारिख, बिहान ११ बजे (त्यहाँको समयमा) तोकिएको छ।

हिजो (फेब्रुअरी १२) अदालतमा पेस गरिएका विवरणअनुसार, विश्वभर रद्द गरिएका २३१ वटा प्रोजेक्ट सूची अदालतको आदेशअनुसार ट्रम्प प्रशासनले बुझाएको हो।

ती परियोजनाहरू लोकतन्त्र र सुशासन, ऊर्जा, निजी क्षेत्रको विकास, व्यापार, शिक्षा, आर्थिक सुधार, र सार्वजनिक वित्तीय व्यवस्थापन जस्ता क्षेत्रमा केन्द्रित छन्। नेपालमा सञ्चालित परियोजनाहरू पनि यसै अन्तर्गत पर्ने उनले बताए।

युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ। सन् २०२३ देखि २०२९ सम्मका लागि युएसएआइडीले नेपालमा धेरै कार्यक्रमहरू अघि बढाउने गरी सम्झौता गरेको थियो।

सरकार र युएसए आइडीबीच ‘विकास लक्ष्यसम्बन्धी भएको औपचारिक सम्झौता’ अनुसार कुल ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रूपैयाँ) बराबरका कार्यक्रम सञ्चालनमा छन्। यसमध्ये ४० करोड डलर (५५ अर्ब रूपैयाँभन्दा बढी) बराबरको कार्यक्रम स्वीकृत भएको छ।

युएसएआइडीले नेपालमा मुख्य ३३ वटा कार्यक्रम सञ्चालन गरेको छ।

यीमध्ये चार वटा कार्यक्रम तथा कामका लागि सरकारलाई प्रत्यक्ष अनुदान दिइन्छ र सरकारी कोषबाट रकम खर्च गरिन्छ। यस्तो रकम नौ अर्ब ८० करोड रूपैयाँ बराबरको छ।

यस अन्तर्गत स्वास्थ्य, कृषि, शिक्षा तथा समावेशी नीति सुधार परियोजनाहरू सञ्चालनमा छन्। यसमध्ये चार अर्ब ७४ करोड रूपैयाँ बराबर रकम प्राप्त भइसकेको छ। पाँच अर्ब ६ करोड रूपैयाँ प्राप्त हुन बाँकी छ।

त्यस्तै २९ वटा कार्यक्रम युएसएआइडीले नै प्रत्यक्ष खर्च गर्ने गरी (अन बजेट अफ ट्रेजरी मोडल) सञ्चालनमा छन्।

यिनको सम्झौता रकम ८१ अर्ब रूपैयाँभन्दा बढी छ। यसअन्तर्गत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कृषि विकासका परियोजनाहरू सञ्चालनमा छन्।