काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२) को ६ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । २०८१ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो ।
यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२ प्रतिशत, घ्यू तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ ।
यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.६८ प्रतिशतले बढेको छ भने शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.३१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेशको ५.९६ प्रतिशत, बागमतीको ५.१४ प्रतिशत, गण्डकीको ४.३७ प्रतिशत, लुम्बिनीको ४.८३ प्रतिशत, कर्णालीको ४.६० प्रतिशत र सुदूरपश्चिमको ५.६७ प्रतिशत रहेको छ ।
यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको छ ।
वैदेशिक व्यापार
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई रु ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा सोयाबिन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई रु ८२२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेललगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउलगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाहबाहेक भैरहवा, विराटनगर, वीरगञ्ज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयलगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई रु ७२३ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.६ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १२.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ७६ अर्ब २५ करोड बराबरको भएको थियो ।
४ प्रतिशतले बढ्यो रेमिट्यान्स
रेमिट्यान्स ४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स ४.१ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।
चालू आवको ६ महिनासम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।
चालू खाता डेढ खर्बले बचतमा
चालू आवको ६ महिनाको अवधिमा चालू खाता रु १४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु १६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु ४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु ३ अर्ब ११ करोड रहेको थियो । यसैगरी समीक्षा अवधिमा रु ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) आप्रवाह रु ४ अर्ब ५४ करोड रहेको थियो ।
यस अवधिमा शोधान्तर स्थिति रु २४९ अर्ब २६ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधान्तर स्थिति रु २७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।
२३ खर्ब विदेशी मुद्रा सञ्चिति, १७ महिना आयात धान्ने
२०८१ असार मसान्तमा रु २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा रु २३१६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई रु २०७२ अर्ब ३४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वृद्धि भई रु २४४ अर्ब ५० करोड कायम भएको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
सरकारको मौज्दात कति ?
२०८१ पुस मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु २९७ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु ८३ अर्ब ९९ करोड रहेको थियो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा नेपाल सरकारको कुल खर्च रु ६६७ अर्ब ६० करोड रहेको छ । समीक्षा अवधिमा चालू खर्च रु ४५२ अर्ब, पुँजीगत खर्च रु ५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्च रु १५८ अर्ब ६६ करोड रहेको छ ।
यस अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु ५५९ अर्ब ६१ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु ४८९ अर्ब ४० करोड र गैरकर राजस्व रु ७० अर्ब २१ करोड परिचालन भएको छ ।