वि.सं.२०८३ साउन २७ बुधवार

नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ : डा.राजन भट्टराई

khanepani

काठमाडौँ । संविधानसभा सदस्य तथा नेकपा एमालेका नेता डा. राजन भट्टराईले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितलाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्ने बताएका छन्।

नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति, अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक संवाद कार्यक्रममा बोल्दै डा.भट्टराईले नेपालको भूराजनीतिक अवस्थिति संवेदनशील रहेकाले परराष्ट्र सम्बन्ध सञ्चालन गर्दा मुलुकको हित र स्वार्थलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

उनले दक्षिण एसियाली परिवेशमा नेपालले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई विशेष महत्वका साथ अघि बढाउनुपर्ने बताए । भारत र चीनबिचको प्रतिस्पर्धा तथा सहकार्यको प्रभाव नेपालमा समेत पर्ने भएकाले त्यसलाई अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उनको भनाइ थियो।

डा.भट्टराईले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालले प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए । छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई एक अर्काविरुद्ध प्रयोग गर्नेभन्दा नेपालको आर्थिक तथा राष्ट्रिय हित प्रवर्द्धन गर्ने गरी अघि बढाउनुपर्ने उनले बताए।

नेपालका लागि भारत र चीन दुवै महत्त्वपूर्ण मुलुक रहेको उल्लेख गर्दै उनले दुवै देशसँग सन्तुलित र विश्वासमा आधारित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । नेपालको परराष्ट्र नीति कुनै बाह्य शक्तिको प्रभावमा नभई आफ्नै राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा तय हुनुपर्ने उनको धारणा थियो।

उनले अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएका परिवर्तनलाई नेपालले चुनौतीका रूपमा मात्रै नहेरी अवसरका रूपमा समेत लिनुपर्ने बताए । नेपालको भौगोलिक अवस्थिति र दक्षिण एसियामा रहेको स्थानलाई मुलुकको आर्थिक विकास र राष्ट्रिय हितसँग जोड्नुपर्नेमा उनले जोड दिए।

डा.भट्टराईले परराष्ट्र नीतिमा स्पष्टता, निरन्तरता र राष्ट्रिय सहमति आवश्यक रहेको बताए । सरकार परिवर्तनसँगै परराष्ट्र नीतिका प्राथमिकता बदलिने अवस्था अन्त्य गर्दै दीर्घकालीन राष्ट्रिय हितमा आधारित नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

ranechhap