काठमाडौं । “न्यायाधीशलाई झोले कार्यकर्ता” को आरोप लगाएका आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद प्रभु साहलाई रौतहट जिल्ला अदालतले अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।
आइतबार जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले साहविरूद्ध कारण देखाऊ आदेश जारी गरेको हो।
आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका साहले न्यायाधीशविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि प्रदीपकुमार यादवले साहविरूद्ध मुद्दा दर्ता गराएका थिए।
साहले फेसबुकमा न्यायाधीशलाई दलको झोले कार्यकर्ता भएको आरोप लगाएका थिए।
‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो। बेइमान एवं अयोग्य न्यायधीशहरूलाई छानबिनको दायरामा ल्याउन म सम्मानीय प्रधानन्यायधीश ज्युको विशेष ध्यानाकर्षण गराउँछु,’ उनले लेखेका थिए।







































