वि.सं.२०८३ साउन २७ बुधवार

जग भन्दा ठूलो पार्टी बन्यो, कहिलेकाहीँ सोच्न बाध्य हुन्छुः रवि लामिछाने

khanepani

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकारोक्ति गरेका छन् । अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरुको काँधमा रहेको उनले बताए ।

आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रास्वपाको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन । कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, भन्ने थाहा पाउन गाह्रो हुन्छ । रास्वपाको बलियो स्ट्रक्चरभन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले आज यहाँ स्वीकार्नै पर्छ । तर युवाको चाहना यही थियो ।

परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए । त्यसकारणले हाम्रो जग बन्नु भन्दा पनि ठुलो र हाम्रो जगले धान्नुभन्दा पनि ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु । तर बनिसकेपछि यसलाई सुरक्षित ढंगले कहाँबाट टेको दिनुपर्छ, कहाँ-कहाँबाट अड्याउनुपर्छ, त्यसका लागि भने हामी तयार हुनुपर्ने हुन्छ ।’

सभापति लामिछानेले युवा नेतृत्वका लागि यो समय परीक्षाको घडी भएको उल्लेख गरे ।

उनले भने, ‘यदि हामीले परिणाम दिन सकेनौँ भने समाजमा एउटा घातक भाष्य निर्माण गरिनेछ- ‘युवाहरू आलाकाँचा हुन्छन्, अनुभवबिना राजनीति चल्दैन, उमेर नै चाहिन्छ ।’ यो भाष्यले अर्को युगका युवाहरूलाई नेतृत्वमा आउन रोक्नेछ । हामी इतिहासको यो भारी बोक्न चाहँदैनौँ । त्यसैले हामीले इमानदार भएर कर्मबाटै युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्नेछ ।’

सम्बोधनका क्रममा लामिछानेले रास्वपा अब ‘वैकल्पिक शक्ति’ मात्र रहेर नपुग्ने भन्दै यसलाई देशको ‘निर्विकल्प शक्ति’ बनाउनुपर्नेमा जोड दिए ।

‘हामी विकल्प खोज्न आएका होइनौँ, आफैँ विकल्प बन्न आएका हौँ,’ उनले भने, ‘यदि हामीले सही बाटो बिरायौँ भने जनताले फेरि अर्को विकल्प खोज्न थाल्नेछन् । त्यसैले हामीले आफूलाई निर्विकल्प प्रमाणित गर्नुपर्छ ।’

ranechhap