वि.सं.२०८३ साउन २४ आइतवार

डिजिटल युगमा पत्रकारिताको साख र घट्दो मर्यादा

बजारमा ‘भ्युज’ र ‘लाइक’ पाउने होडमा पत्रकारिताका आधारभूत आचारसंहिता पन्छाउने प्रवृत्ति बढेको छ, जसले गर्दा पत्रकारिताको गरिमा दिनप्रतिदिन खस्कँदै गएको छ।

khanepani

पत्रकारिता समाजको दर्पण मात्र होइन, यो लोकतन्त्रको चौथो स्तम्भ पनि हो। निष्पक्ष सूचना, सत्यतथ्य समाचार र जनचेतना फैलाउने दायित्व बोकेको यस क्षेत्रको आफ्नै मौलिक मर्यादित सीमा, सिद्धान्त र इतिहास छ। तर, समयको बदलावसँगै सूचना प्रविधिको विकासले पत्रकारिताको परम्परागत स्वरूप र कार्यशैलीमा ठूलो परिवर्तन ल्याएको छ। हिजोका दिनमा पत्रकारिता गर्दा देखा पर्ने चुनौती र आजको डिजिटल युगमा देखिने समस्याहरू नितान्त फरक छन्। पछिल्लो समय प्रविधिको पहुँचसँगै पत्रकारिताको मर्म र मर्यादामा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।

हिजोको पत्रकारिता अध्ययन, अनुसन्धान, धैर्य र निष्पक्षतामा आधारित थियो। कुनै पनि समाचार वा अन्तर्वार्ता तयार पार्नु अघि त्यसका स्रोतहरूको विश्वसनीयता, विषयवस्तुको गम्भीरता र समाजमा पर्ने प्रभावको गहन विश्लेषण गरिन्थ्यो। तर, आजको पत्रकारितामा प्रविधिले सहजता ल्याए पनि यसको गुणस्तर र गम्भीरतामा भने ह्रास आएको देखिन्छ। विशेष गरी, सामाजिक सञ्जालको व्यापक प्रयोगलाई नै ‘पत्रकारिता’ मान्ने गलत भाष्य र प्रचलन स्थापित हुँदै गएको छ, जहाँ विचारको सम्मान, तथ्यको पुष्टि र शिष्टाचारको कमी देखिन्छ। आजभोलि कसले कति भ्रामक, विवादित वा सनसनीपूर्ण विषयवस्तु (कन्टेन्ट) पस्कन सक्छ भन्ने होडबाजी चलेको छ। बजारमा ‘भ्युज’ र ‘लाइक’ पाउने होडमा पत्रकारिताका आधारभूत आचारसंहिता पन्छाउने प्रवृत्ति बढेको छ, जसले गर्दा पत्रकारिताको गरिमा दिनप्रतिदिन खस्कँदै गएको छ।

अहिलेको समयमा हातमा एउटा क्यामेरा र बुम (माइक्रोफोन) बोकेर हिँड्ने बित्तिकै आफूलाई ‘ठूलो पत्रकार’ दाबी गर्ने प्रवृत्ति बढेको छ। यो पत्रकारिताको प्राविधिक तथा सैद्धान्तिक संरचना बुझ्न नसक्नुको परिणाम हो। पत्रकारिताको सिद्धान्त अनुसार बुम वा क्यामेरा बोकेर प्राविधिक काम गर्ने व्यक्ति ‘क्यामेरा पर्सन’ वा प्राविधिक सहायक हुन्। उनीहरूको भूमिका पत्रकारितालाई पूर्णता दिन प्राविधिक सहयोग गर्नु हो। तर, आजभोलि प्राविधिक भूमिका र मूल पत्रकारिताको सूक्ष्म अन्तरलाई बिर्सेर बुम बोक्ने बित्तिकै सम्पूर्ण ‘मिडियाकर्मी’ वा ‘पत्रकार’को दर्जा दिने र सोही अनुसारको व्यवहार गर्ने भ्रामक परिभाषा समाजमा स्थापित भएको छ। यसले गर्दा वास्तविक, अध्ययनशील र जिम्मेवार पत्रकारहरूको पहिचान ओझेलमा पर्ने खतरा बढेको छ।

हिजोका दिनमा कुनै विशिष्ट व्यक्ति वा विषयमा अन्तर्वार्ता लिनुअघि व्यापक तयारी गरिन्थ्यो। अन्तर्वार्ताकारले सम्बन्धित विषयवस्तुको गहिरो अध्ययन गर्दथे। अन्तर्वार्ता दिने व्यक्तिको योग्यता, राजनीतिक, सामाजिक तथा पारिवारिक पृष्ठभूमि र उनी उक्त विषयका ज्ञाता हुन् वा होइनन् भन्ने कुराको पूर्वपुष्टि गरिन्थ्यो। त्यसपछि समय लिएर शान्त, उपयुक्त र मर्यादित वातावरणमा अन्तर्वार्ता सञ्चालन गरिन्थ्यो। तर, वर्तमान समयमा यो परम्परा लगभग लोप हुने अवस्थामा पुगेको छ। आज बाटोघाटो, चोक-चौतारा जहाँ भेट्यो त्यहीँ बुम तेर्स्याएर अन्तर्वार्ता लिने र दिने प्रवृत्ति हाबी भएको छ। यसले पत्रकारिताको मर्यादामा मात्र प्रहार गरेको छैन, अन्तर्वार्ता दिने व्यक्तिको बौद्धिक क्षमता, योग्यता र विचारको गम्भीरतामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ। तयारीबिनाका प्रश्न र अध्ययनबिनाका उत्तरले समाजलाई सही दिशा निर्देश गर्नुको सट्टा अन्योल र अराजकतातर्फ धकेल्ने काम गरिरहेका छन्।

पत्रकारितामा स्रोतको गोपनीयता र पत्रकारको भूमिका निकै संवेदनशील मानिन्छ। पत्रकार स्वयं सधैँ सार्वजनिक भइरहने वा चर्चामा आउन खोज्ने व्यक्ति होइन। पत्रकार र समाचारको स्रोतबीचको सम्बन्ध सधैँ गोप्य, विश्वसनीय र सुरक्षित हुनुपर्छ। राज्यका तीन प्रमुख अङ्गहरू—कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका—यदि राष्ट्रहित, जनहित, राष्ट्रिय अखण्डता, धार्मिक-सामाजिक सद्भाव र संस्कृतिका विरुद्ध लक्षित हुने अवस्था आएमा सञ्चारमाध्यम र पत्रकारको भूमिका निर्णायक हुन्छ। सरकार वा राज्य संयन्त्रले गरेका राम्रा र जनहितकारी कामको समर्थन एवं प्रशंसा गर्नु पत्रकारको दायित्व हो भने सरकारबाट हुने गलत निर्णय, भ्रष्टाचार वा जनविरोधी कामको खबरदारी र विरोध गर्नु पनि सञ्चारमाध्यमकै कर्तव्य हो। यो सन्तुलनले नै राष्ट्रिय हितको रक्षा गर्छ र लोकतन्त्रलाई बलियो बनाउँछ।

हिजोको समयमा राजनीतिक नेता तथा राज्य सञ्चालकहरूले आफ्ना नीति, विचार र दृष्टिकोण जनतासम्म पुर्‍याउन आधिकारिक सञ्चारमाध्यमको प्रयोग गर्दथे। जनताको मत र भावना बुझ्नका लागि पनि सञ्चारमाध्यम नै भरपर्दो सेतु थियो। सञ्चारमाध्यमले विज्ञापन र व्यावसायिक नियमभित्र रहेर आर्थिक आर्जन गर्दथे भने पत्रकारले आफ्नो बौद्धिक श्रमको मूल्य पाउँथे। तर, आज स्थिति फेरिएको छ। देशको प्रधानमन्त्री वा उच्च पदस्थ शासकहरूले आफ्ना आधिकारिक विचार, नीति र सूचनाहरू जनतामाझ लैजान आधिकारिक सञ्चारमाध्यमलाई छोडेर निजी वा असङ्गठित सामाजिक सञ्जाललाई प्राथमिकता दिन थालेका छन्।

सामाजिक सञ्जालको जथाभाबी प्रयोगले समाजमा अराजकता र अफवाहलाई प्रश्रय दिन्छ। राज्यका जिम्मेवार व्यक्तिहरूले नै सामाजिक सञ्जाललाई मुख्य माध्यम बनाउँदा स्थापना भएका सञ्चारमाध्यमको ओझ र पत्यार घट्दै जान्छ। सञ्चारमाध्यम कमजोर हुनु भनेको अन्ततः देशको लोकतान्त्रिक छवि र अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का पुग्नु हो। यो विषयलाई राज्य सञ्चालकहरूले गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। सञ्चारमाध्यममा आउने विषयवस्तुलाई राज्यका पक्ष र विपक्ष दुवैले गम्भीर ढङ्गले विश्लेषण गर्न सकेनन् भने समाज अराजकताको भुमरीमा फस्ने निश्चित छ।

सरकारले आफ्ना धारणा, नीति र सूचनाहरू सार्वजनिक गर्दा आफ्ना आधिकारिक सरकारी सञ्चारमाध्यमहरू (जस्तै: गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, रासस आदि) को प्रयोग गर्नु उपयुक्त हुन्छ। सरकारले आफ्ना विचार र सूचनालाई व्यापार वा आर्थिक लाभको साधन बनाउनु पूर्णतः गलत हो। यदि सामाजिक सञ्जालकै प्रयोग गर्ने हो भने पनि सरकारले आफ्ना आधिकारिक र सुरक्षित सरकारी सामाजिक सञ्जालका पानाहरू (Official Handles) मार्फत मात्र सूचना सम्प्रेषण गर्ने परिपाटी बसाल्नु पर्छ। व्यक्तिगत वा गैरजिम्मेवार तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै राज्य संयन्त्रले सञ्चारमाध्यमको संस्थागत विकास र मर्यादा जोगाउन नेतृत्वदायी भूमिका खेल्नुपर्छ।

पत्रकारिताको साख जोगाउनु केवल पत्रकारहरूको मात्र नभई राज्य र सम्पूर्ण समाजको साझा दायित्व हो। प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै पत्रकारिताको मर्म, आचारसंहिता र मर्यादालाई पुनः स्थापित गर्न सकिएमा मात्र लोकतन्त्र सुदृढ हुन सक्छ।

ranechhap