वि.सं.२०८३ वैशाख १८ शुक्रवार

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च

khanepani

काठमाडौं । काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको अध्यक्ष बिसीले बताए ।

नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको उनले बताए । ‘संघले तोकेको मूल्य ब्रोइलर कुखुराको मासु काठमाडौं उपत्यकामा बिक्री इतिहासकै सबै भन्दा धेरै हो,अध्यक्ष बिसीले भने । यस अघि कुखुराको मासुको मूल्य संघले चार सय रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।

ब्रोइलर मासुको बिक्री थालेको २२ वर्षको अनुभवमा अहिलेको मूल्य यस अघि कहिल्यै नदेखेको संघका निर्वतमान कोषाध्यक्ष बल्लु बलराम खड्गीले बताए । ‘संघले ४१० रुपैयाँ तोकेको छ, खुद्रामा ४३० रुपैयाँ भन्दा धेरैमा मासुको मूल्य रहेको हुनसक्छ,’ खड्गीले बताए।

मासुको खुद्रा बिक्रीकर्ताहरुका अनुसार मासुको बजार प्रति किलो मूल्य ४३० रुपैयाँ भन्दा धेरै छ । तयारी कुखुराको प्रतिकिलो मूल्य नै ३९० रुपैयाँ भन्दा धेरै होलसेलमा पर्ने गरेको काठमाडौं नागार्जुनका मासु व्यवसायी पूर्ण बहादुर श्रेष्ठले बताए । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुन्छ ।

जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस अघि किसानले प्रतिकिलो अधिकतम् २७० रुपैयाँ पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको अध्यक्ष बिसीले बताए ।

पछिल्लो समय दुई पटक मूल्य बढ्दा २८० रुपैयाँ हुँदै २९० रुपैयाँ पुगेको छ, किसानले पनि राम्रै मूल्य पाएका छन् ।’ अध्यक्ष बिसीले भने । गत असोजमा ब्रोइलर कुखुराको मासुको मूल्य पछिल्लो तीन वर्षयताकै सबैभन्दा कम २०५ रुपैयाँमा झरेको थियो ।

कोरोना पछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । जाडोका कारण अहिले बजारमा आउनु पर्ने कुखुराको उत्पादनमा घट्नुको असर मूल्यमा परेको संघका अध्यक्ष बिसीले बताए । काठमाडौं उपत्यकामा दैनिक साढे दुई लाख किलो मासुको माग हुने गरेकोमा उत्पादन भने कम रहेको संघले जनाएको छ ।

देशभर दैनिक सरदर १० लाख किलो मासुको माग रहेकोमा कोभिड तथा अन्य कारणले उत्पादनमा ह्रास आएको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले जनाएको छ ।

कच्चा, पदार्थको मूल्य बढ्नु, बर्डफ्लुको त्रास तथा यस अघि राम्रो मूल्य नपाउनु जस्ता कारणले किसान हतोत्साही हुँदा उत्पादनमा असर परेको संघका अध्यक्ष जनक पौडेलले बताए । ‘जाडो, कोभिड र दाना लगायतका वस्तुमा भएको मूल्य वृद्धिको मारमा किसान परेपछि बजारमा त्यसको असर देखियो,’ पौडेलले भने ।

काठमाडौं उपत्यकामा खुद्रामा ४५० रुपैयाँसम्ममा कुखुराको मासुको बिक्री हुँदा किसानले पाउने मूल्य भने किलोमा १६० रुपैयाँसम्म कम रहेको भन्दै नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले भने आपत्ति जनाएको छ । जिउँदो र तयारी मासुमा प्रतिकलो एक सय रुपैयाँको अन्तर ठिकै भएपनि १६० रुपैयाँसम्म हुनु भनेको उपभोक्ता र किसान माथी ठगी भएको संघका अध्यक्ष पौडेल बताउँछन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मासुको मूल्य तोक्दा बिचौलियाले नाफा धेरै राखेको छ, किसानसँग तयारी ब्रोइलर खरिद गरेको भन्दा मासुको बिक्री मूल्य १२० रुपैयाँले बढी तोक्नु किसान र उपभोक्ता माथीकबो लुट हो, । अध्यक्ष पौडेलले आरोप लगाए । किसान र उपभोक्ता मूल्यमा देखिएको अन्तर बिचौलियाको नाफा भएको भन्दै त्यसलाई घटाउन वाणिज्य विभागले भूमिका खेल्नु पर्ने उनको भनाइ छ ।

ranechhap