काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्याउने बताएका छन् ।
२५७०औँ बुद्ध जयन्तीको शुभकामना दिँदै पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्न प्रेरणा मिलोस् भनी उनको कामना छ ।
आजै परेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना सन्देशमा पौडेलले विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।
नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक एवम् श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको उनले स्मरण गरेका छन् ।
मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न परिकल्पना गरिएको संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने राष्ट्रपतिको विश्वास छ ।
त्यस्तै,उभौलीका अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता सांस्कृतिक पर्वहरूले देशको सांस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्ने उनले बताएका छन् । साथै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
उभौली पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना पौडेलको छ ।









































