विगतका वर्षहरुमा हिन्दू परम्परा अनुसार नेपाली समाजमा भाद्र मासको आगमनसँगै विशेष गरी एउटा छुट्टै सांस्कृतिक तरङ्ग पैदा हुन्थ्यो। गाउँबेंसीदेखि सहरका गल्लीहरूसम्म दिदीबहिनीहरूको मुस्कान, राता सारी, पोते र मेहन्दीको चमकले परिवेशलाई नै उज्यालो बनाउँथ्यो। साथीसङ्गी भेला भएर दर खाने, दुःख-सुख साट्ने र गीतका भाकाहरूमा जीवनको थकान बिसाउने नेपाली नारीहरूको मौलिक पर्व तीज केवल पात्रोको तिथि मात्र होइन, सामूहिक उल्लासको पर्याय थियो। तर यसपटक दृश्य र मन दुवै बदलिएका छन्। तीजको रौनक सुरु नहुँदै भोटेकोशी र त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले त्यो उल्लासमय रङलाई एकाएक मौनता र विरक्त भावमा परिणत गरिदिएको छ।
बजारमा तीजका सामानहरू सजिएका होलान्, तर समाजको भित्री मन शोकले आक्रान्त छ। भदौ १० को त्यो कहालीलाग्दो विपत्तिले रसुवा, धादिङ र नुवाकोट लगायतका क्षेत्रमा पुर्याएको विध्वंस शब्दमा अटाउने खालको छैन। कयौँले आफ्ना आमा, दिदीबहिनी, दाजुभाइ र सन्तान गुमाएका छन्। कतिको बास बगाएको छ भने कतिको सपना नै सोही भेलमा विलीन भएको छ। सामाजिक सञ्जालमा देखिने तीजका रमाइला दृश्यहरू घटेका छन्, किनकि एकातिर दिदीबहिनीहरूको काख रित्तिँदा अर्कोतिर निर्धक्क रमाउन नेपालीको संवेदनशील मनले मानिरहेको छैन। चाडपर्व समाजको वास्तविक ऐना हो, जब समाज नै पीडामा हुन्छ, पर्वहरूमा पनि त्यसैको छाया प्रस्ट देखिन्छ। त्यसैले पर्व संस्कृति र परम्परा भनेको “सँगसँगै बाँचौँ, सँगसँगै हाँसौँ” भन्ने सामूहिक भावनामा आधारित हुनुपर्दछ ।
विपत्ति र सङ्कट नेपाली समाजका लागि नयाँ भने होइनन्। २०७२ को महाभूकम्पले भत्काएका बस्तीहरू, त्यसलगत्तै कोभिड–१९ को संक्रमण, अनि बर्सेनि दोहोरिने बाढी–पहिरोका घाउहरू हामीले झेल्दै आएका छौँ। गत भदौ २३ र २४ गतेको राजनीतिक उथलपुथल र आन्दोलनका क्रममा गुमेका होनहार युवाहरूको पीडामा खाटा बस्न नपाउँदै उर्लिएको यो बाढीले फेरि एकपटक हाम्रो धैर्यको परीक्षा लिएको छ। यस्ता कठोर मोडहरूले हामीलाई एउटै पाठ सिकाएका छन्— प्राकृतिक प्रकोप र पीडाको दूरी कसैका लागि पनि टाढा छैन। आज सुरक्षित ठाउँमा बसेर अरूको विपत्ति हेरिरहेको मान्छे भोलि स्वयं अर्को विपत्तिको सिकार बन्न सक्छ। त्यसैले पीडामा परेकालाई हात दिनु कुनै दया वा उपकार होइन, हाम्रो मानवीय सहअस्तित्वको अनिवार्य सर्त हो।
कहिले उर्लिएको त्रिशूलीले मान्छेको ज्यान लिन्छ त कहिले भीषण बाढीले जीवनभरको कमाइ र सर्वस्व बगाउँछ। नेपाली समाज फेरि प्राकृतिक र राजनीतिक विपत्तिको निरन्तर चक्रव्यूहमा फस्यो। बितेको एक वर्षमै ‘जेन–जी’ आन्दोलन र राजनीतिक अस्थिरताका कारण राष्ट्रिय सम्पत्तिको ठूलो विनाश भयो; आन्दोलनको रापमा दर्जनौँ युवाहरूले अकालमै ज्यान गुमाए। ती घाउहरूमा खाटा बस्न नपाउँदै फेरि विनाशकारी बाढीले हजारौँ परिवारको बास र भविष्य उजाडिदिएको छ। यस्तो निरन्तरको विध्वंस, क्षति र अन्योलबीच आम नागरिकको दैनिकी पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। चारैतिर आँसु र अभाव छाएको यस्तो संवेदनशील परिस्थितिमा देखावटी खुसी हुनु भनेको केवल आफ्नो मनलाई जबर्जस्ती सम्हाल्नु र बहलाउनु मात्र हो।
यस्तो संवेदनशील घडीमा तीजलाई केवल परम्परागत शृङ्गार, नाचगान र पार्टी प्यालेसको तडकभडकमा सीमित राख्नु हाम्रो सामाजिक चेतनाकै उपहास हुनेछ। संस्कृति जोगाउनु वा पर्व मनाउनु गलत होइन, तर छिमेकीको आँसुलाई बेवास्ता गरेर मनाइने उत्सवले आत्मसन्तुष्टि दिन सक्दैन। कसरी एउटी संवेदनशील नारी निर्धक्क शृङ्गारमा मस्त हुन सक्छिन्, जब अर्की नारीको सिन्दूर र काख त्यही बाढीले खोसेको छ ।
समयले यसपालिको तीजलाई भिन्न दृष्टिकोणबाट हेर्न माग गरेको छ। यो पर्वलाई अब देखावटी आडम्बरबाट मुक्त गरी मानवीय ऐक्यबद्धताको प्रतीक बनाउनुपर्छ। शृङ्गार र फजुल खर्चका लागि छुट्याइएको बजेटको केही अंश काटेर बाढीपीडितका लागि राहत कोषमा जोडौँ। दर खाने जमघटहरूलाई विपत्तिमा परेका बालबालिकाको शिक्षा र बेघर भएका परिवारको पुनस्थापनाका लागि सहयोग जुटाउने थलोका रूपमा रूपान्तरण गरौँ।
नेपाली संस्कृति ‘एक्लै उपभोग गर’ भन्ने स्वार्थी धरातलमा उभिएको छैन, यो त ‘सँगै बाँचौँ र सँगै हाँसौँ’ भन्ने सामूहिक जीवनदर्शन हो। जस्तोसुकै महाविपत्तिमा पनि धुलो टकटक्याएर फेरि उठ्ने अदम्य साहस र पशुपतिनाथको छत्रछायाँमा रहेको हाम्रो सनातन संस्कारले हामीलाई कहिल्यै भाँचिन दिएको छैन। यसपालिको तीजमा दरको थालमा मानवताको भाग मिसाऔँ, गीतका भाकाहरूमा पीडितहरूको वेदनालाई समेटौँ र आफ्ना खुसीहरूलाई पीडितका आँसु पुछ्ने अभियानसँग जोडौँ। हाम्रो उपस्थितिले अरू कसैको अँध्यारो जीवनमा कति ढाडस दिन सक्यो, चाडपर्वको वास्तविक सार्थकता केवल त्यसमै निर्भर रहन्छ।






































