काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
आइतबार बिहान करिब २:५० बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र पछाडि सवार सोही ठाउँका ३४ वर्षीय सागर रेग्मीलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो।
अस्पतालमा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी हुन्। प्रहरीले दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान गरिरहेको छ।








































