वि.सं.२०८३ साउन १९ मंगलवार

सांसद सिंहको प्रश्न : मधेसमा हजारौँ प्रहरी पठाउन बजेट हुने, शिक्षक पठाउन किन नहुने ?

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेसमा आन्दोलन वा तनाव हुँदा राज्यले सोझै गोली चलाउने प्रवृत्तिको विरोध गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद सिंहले तराई–मधेसमा भएका पछिल्ला हिंसात्मक घटना र राज्यको दमनकारी नीतिप्रति आलोचना गरे ।

सांसद सिंहले अहिलेको राष्ट्रको आवश्यकता सामुदायिक लडाइँ नभई गरिबी, पछौटेपन र असमानता विरुद्धको लडाइँ भएको बताए । उनले सबै समुदायलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न अपिल समेत गरे ।

सांसद सिंहले राज्यको सुरक्षा नीतिमाथि गम्भीर प्रश्न उठाउँदै मधेसमा हुने कुनै पनि प्रदर्शन वा तनावमा प्रहरीले सोझै गोली चलाउने गरेको आरोप लगाए । उनले भने, ‘मधेसमा जहिले पनि केही हुँदा गोली मात्र किन चल्छ ? त्यहाँ लाठी किन चल्दैन ? अश्रुग्यास किन चल्दैन ? विश्वमा नेपाल बाहेक कतै पनि प्रहरीलाई एसएलआर दिइँदैन, तर यहाँ प्रहरीले सोझै एसएल आरबाट गोली हान्छ ।’

सांसद सिंहले सुरक्षा निकायमा मधेसी समुदायको प्रतिनिधित्व कम भएका कारण मधेसमा सुरक्षाकर्मी पुग्दा विदेशी फौज आएको जस्तो मनोविज्ञान सिर्जना हुने गरेको तर्क गरे । ‘मधेसमा सुरक्षा निकाय जाने बित्तिकै त्यहाँ एउटा फरक मनोविज्ञान बन्छ, किनकि उनीहरूमा मधेसी अनुहार देखिँदैन । यसले गर्दा सोझै गोली ठोक्ने स्थिति बन्छ, जुन अन्त्य हुनुपर्छ,’ उनले भने ।

सरकारले मधेसमा सुरक्षाकर्मी परिचालन गर्न जति तत्परता देखाउँछ, विकास र शिक्षामा त्यति नै उपेक्षा गरेको उनको आरोप थियो । सांसद सिंहले प्रश्न गरे, ‘सरकारसँग हजारौँको संख्यामा सेना र प्रहरी परिचालन गर्न पैसा छ, तर मधेसमा शिक्षक, डाक्टर र इन्जिनियर नियुक्ति गर्न पैसा किन छैन ? मधेसलाई सधैँ गरिब बनाउने र केही हुँदा गोली ठोक्ने यो विभेदकारी नीति अब मधेसले सहन सक्दैन ।’

सांसद सिंहले मधेसमा अशान्ति फैलाएर राज्यले आफ्नो दुनो सोझ्याउन खोजेको भन्दै यस्तो प्रवृत्तिले राष्ट्रिय एकता बलियो नहुने चेतावनी दिए । उनले सरकारलाई तत्काल संयमित हुन र मधेसका समस्यालाई विकास र संवादमार्फत समाधान गर्न आग्रह गरे ।

ranechhap