वि.सं.२०८३ साउन १९ मंगलवार

सीटीईभीटीका करार कर्मचारी अनिश्चितकालीन धर्नामा, चरणबद्ध आन्दोलन सुरु

khanepani

रूपन्देही । राप्ती प्राविधिक शिक्षालय गढवा–३ मा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरू धर्ना बसेर दवाव दिएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै आन्दोलन थालेका हुन् । त्यसैको प्रभावले राप्ती प्राविधिक शिक्षालयका कर्मचारीहरु पनि आन्दोलित भएका हुन् ।

करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमअनुसार देशभरका प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखा कार्यालयमा आन्दोलन सुरु गरिएको हो ।

समितिका अनुसार कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद् व्यवस्थापनसमक्ष ९ बुँदे मागपत्र पेश गरिएको थियो ।

२०७७ देखि विभिन्न चरणमा आन्दोलन, मागपत्र पेश तथा प्रतिवेदन तयारी भए पनि व्यवस्थापन पक्षले हालसम्म कुनै ठोस निर्णय नगरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ ।

समितिले २०८३ साउन ११ गते दिएको २४ घण्टे अल्टिमेटमको अवधि सकिँदासमेत माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएकाले चरणबद्ध आन्दोलन सुरु गरिएको उल्लेख गरेको छ ।

साउन १८ गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्दै संघर्ष सुरु गरिएको हो । साउन २२ गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाजसमेत ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ ।

यस अघि राप्ती प्राविधिक शिक्षालयका करार संघर्ष संयोजक सुशील पौडेलले शिक्षालय प्रमुख परशुराम खनाललाई आन्दोलन सम्बन्धी अपिल तथा ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

ranechhap