काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको तीन बुँदे सहमतिलाई लिएर दुवै पार्टीमा असन्तुष्टि बढेको छ । विगतका कमी–कमजोरीको गम्भीर समीक्षा नगरी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता स्वार्थ केन्द्रित सहमति गरेको भन्दै दुवै पार्टीमा असन्तुष्टि बढेको देखिन्छ ।
एमाले र नेपाली कांग्रेसबिच ०८१ असारमा भएको ७ बुँदे सहमति भत्किएपछि वामपन्थी गठबन्धन बनाउन ओली र प्रचण्ड निरन्तर छलफलमा थिए । छलफललाई निष्कर्षमा पुर्याउन दुवै पार्टीले कार्यदल स्तरमा निरन्तर संवाद गरेका थिए ।
एमालेबाट उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेकपाबाट वर्षमान पुन, प्रमेश हमाल उक्त संवादमा सहभागी थिए । एमालेसँग सहकार्य गर्ने विषयमा नेकपाका संयोजक प्रचण्डले सहसंयोजक नेपालसँग पटक–पटक संवाद गरेका थिए । साउन २ गते श्रीलंका भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रचण्डले नेपालकै सहमति अनुसार साउन ५ गते ओलीसँग दुई घण्टा लामो छलफल गरेका थिए ।
शीर्ष नेताहरूका अनुसार ८ गते बेलुका र ९ गते बिहान पनि एमालेसँग सत्ता समीकरण बनाउने विषयमा प्रचण्ड र नेपालबिच संवाद भएको थियो । यद्यपि सहमतिपत्रमा हस्ताक्षर गर्ने बेला नेपाल र उनी निकटस्थ नेताहरू सहभागी भएनन् ।
प्रदेश सत्ता समीकरण बनाउने विषयमा एमालेसँग मात्र नभइ कांग्रेससँग पनि सहमति गर्नुपर्नेमा नेपालले जोड दिँदै आएका थिए । नीतिगत समीक्षा नभई हतारोमा ओलीसँग सहमति भएकोमा नेपाल असन्तुष्ट देखिएका छन् । नेता रामकुमार भट्टराईले कार्यगत एकता हुँदै भविष्यमा वाम एकता गर्ने बाटोमा जाने गरी सहमति नभएकोमा नेपाल असन्तुष्ट देखिएको बताएका थिए ।
‘एमाले र नेकपा मिलेर बन्ने नयाँ सरकारले जनतालाई नयाँ चिज के दिने भनेर सहमति नभएको देखिन्छ । हतार गरिएको हो कि, परिपक्व भएन कि भन्ने उहाँ (माधवकुमार नेपाल)को कुरा छ’, उनले भनेका थिए । सहमतिलाई लिएर माधव समूह नै विभाजित देखिएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष सुदेश पराजुलीले विगतका कमजोरी नसच्याएर सत्ता केन्द्रित सहमति गरेकोमा विरोध जनाए ।
‘सधैँ स्वर्ग र नर्कको कुरा गरेर भएन । विगतको कमी–कमजोरीको समीक्षा नगरी कसले मुख्यमन्त्री पाउने, कसले मन्त्री पाउने भनेरमात्र सहमति भएको छ । सत्ता केन्द्रित गतिविधिले जनतामा झन् निराशा बढ्छ । यसले अन्ततोगत्वा वामपन्थी आन्दोलनलाई झन् कमजोर बनाउँछ’, पराजुलीले भने ।
स्रोतका अनुसार तीन बुँदे सहमतिलाई लिएर नेपाल निकटस्थहरूले आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा छलफल गरेका थिए । छलफलमा सहसंयोजक नेपाल, वार्ता टोलीका सदस्य प्रमेश हमाल, जीवन राई, मोहन गौतम, सुदेश पराजुली लगायत नेपाल निकटस्थ नेताहरू सहभागी थिए । तीन बुँदे सहमतिलाई लिएर नेताहरूले नेपालसँग प्रश्न उठाएको बुझिएको छ । जबाफमा नेपालले प्रचण्डसँग छलफल गर्ने बताएका थिए ।
‘तीन बुँदे सहमतिलाई लिएर केही नेतासँग उहाँ (माधव)ले छलफल गर्नुभएको थियो । सहमतिमा हस्ताक्षर गर्ने बेला सहसंयोजक र वार्ता टोलीका सदस्य प्रमेश हमाललाई पनि सहभागी गराइएको देखिएन’, स्रोतले भन्यो, ‘यस विषयमा नेताहरूले माधव कमरेडसँग प्रश्न गर्नुभएको थियो । यसबारे प्रचण्डजीसँग छलफल गर्छु भन्नुभएको छ । पटक–पटक धोका पाएकाले ओलीसँग हतारिएर सहमति गर्न नहुने पक्षमा उहाँ देखिनुहुन्थ्यो ।’
माधव निकट केही नेताले सहमतिप्रति असहमति व्यक्त गर्दा प्रवक्ता प्रकाश ज्वाला, नेताहरू डा. बेदुराम भुसाल, जनन्नाथ खतिवडा लगायत नेताहरूले सहमतिको समर्थन गरेका छन् । उनीहरूले नेपालकै सल्लाहमै ओलीसँग सहमति भएको जिकिर गरेका छन् । नेता जगन्नाथ खतिवडाले अहिलेको आवश्यकता वामपन्थीहरूबिच सहकार्य र एकता भएको जिकिर गरे । गएको निर्वाचनमा दुवै दलले ठुलो धक्का खाएको बेला फेरि ओली र प्रचण्ड एक ठाउँमा आउनु राम्रो कदम भएको उनले बताए ।
‘अहिलेको आवश्यकता वामपन्थीबिच सहकार्य र एकता गर्ने भनेरै तीन बुँदे सहमति भएको हो । माधवजीको सल्लाहमै सहमति भएको हो’, उनले भने ।
प्रचण्ड निकट नेताहरूले पनि तीन बुँदे सहमतिको समर्थन गरेका छन् । संगठन विभाग प्रमुख वर्षमान पुनकै अग्रसरतामा एमालेसँग सत्ता सहकार्य भएको भएको थियो । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि सहमतिको बचाउ गरेका छन् ।
‘नेपाली कांग्रेस र नेकपा एमाले एउटै सरकारमा बस्दै नबस्ने स्थिति आएपछि तत्काल प्रदेश सभा विघटनमा जान नदिनका लागि हामी सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनुपर्ने स्थितिमा पुगेका हौँ,’ सहमतिको बचाउ गर्दै श्रेष्ठले भनेका थिए ।
यता तीन बुँदे सहमतिलाई लिएर एमालेभित्र असन्तुष्ट बढेको छ । पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको पक्षमा रहेका नेताहरूले ‘विगतको समीक्षा नगरी स्वार्थमा जोडिएको सम्बन्ध’ भनेर तीन बुँदे सहमतिप्रति प्रतिक्रिया जनाएका छन् । नेता गोकुल बास्कोटाले सत्ता समीकरणमा एमाले र नेकपाले देउवालाई पनि जित्ने हैसियत बनाएको बताए । सहमतिबारे पार्टीकै खास नेता बाहेक अन्यले थाहा नपाउनु विजय मल्लले भनेझैँ ‘अन्तिम भोज’ होला भनेर उनले टिप्पणी गरेका छन् ।
‘सत्ता समीकरणमा एमाले र माओवादी (हाल नेकपा)ले देउवालाई पनि जित्ने हैसियत बनाए । खोपी सत्ता किन बन्छन् र भत्कन्छन् ?’, प्रश्न उठाउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ती सभाका केही सदस्य र खास नेता बाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो । हाँडी बोकेर स्वर्ग कि नर्क, बतास झैँ बत्तिएका छन् । विजय मल्लको अन्तिम भोज नै त यो हैन होला ? अचम्म लाग्छ ।’
युवा नेताहरूले आइतबार काठमाडौँमा एक कार्यक्रम नै राखेर तीन बुँदे सहमतिको विरोध गरेका छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेलले विगतमा धेरै पटक झस्किएकाले तल्लो वर्गको प्रतिनिधित्व हुनेगरी वामपन्थी एकता गर्नुपर्नेमा जोड दिए ।
‘वामपन्थी बिचको एकताको प्रसङ्ग छ । हामी पटक–पटक झस्किएका छौँ । हिजो पनि एकतालाई निरन्तरता दिँदा दिँदै भाँडियो । तितो अनुभव हामीसँग छ । तितो अनुभव देखेर वर्ग चरित्र अनुसार हिँड्न सकेनौँ भने सच्याउनुपर्छ’, ढुंगेलले भने, ‘तल्लो वर्गको प्रतिनिधित्व गर्ने पार्टी एमाले हो । त्यसकै जगमा कम्युनिस्ट आन्दोलन एक हुनुपर्छ । वाम आन्दोलनलाई एक ठाउँमा राख्न सकियो भने कमजोर बन्दै गएको आन्दोलनलाई उठाउन सकिन्छ ।’
प्रदेश सत्ता समीकरण कोही आवश्यकता, कोही बाध्यता भएपनि प्रदेश सरकारमा बसेर चित्त बुझाउने ठाउँ नभएको उनको भनाइ छ । उनले यस्ता कुरालाई ख्याल गर्दै पहिले पार्टीको रिफर्म र ट्रान्सफर्मेसन गर्नुपर्नेमा जोड दिए ।
अर्का नेता ठाकुर गैरेले एमाले र कांग्रेसबिच भएको सहमति तोडेर फेरि नेकपासँग सत्ता सहकार्य गर्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न उठाएका छन् ।
‘हिजो कांग्रेस र एमालेबिच भएको आधा–आधा बार्गेनिङ समय सकिएपछि हामीले नेतृत्व गरेको ठाउँमा छोडेर कांग्रेसलाई समर्थन गर्नुपर्ने थियो । आज फेरि माओवादी (नेकपा)सँग एमाले मिल्ने परिस्थिति किन भइराखेको छ ? यो निर्णयले देशमा नयाँ सन्देश र जागरण ल्यायो ? कार्यकर्तामा मनोबल थप्यो ?’, नेतृत्वप्रति गैरेले प्रश्न उठाए ।
यी सम्पूर्ण कुराको रिभ्यू हुनुपर्ने उनले बताए । त्यसको आधारमा समग्र परिस्थितिको निष्कर्ष ननिकालिकन वाम एकता हुन नसक्ने गैरेको भनाइ छ ।
उनले भने, ‘आज केपी, प्रचण्ड र माधव नेपाल मिल्यौँ भनेर हात हल्लाएको भरमा वामपन्थी आन्दोलनले नयाँ जीवन प्राप्त गर्नेवाला छ ? बरु उहाँ तीन जनाले सगौरव कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्नुभयो भने त्यसले ठुलो जागरण पैदा गर्छ । त्यो पो आजको अवश्यकता हो । त्यसो गर्नुभयो भने यो आन्दोलनका निम्ति न्याय हुन्छ । समग्र कम्युनिस्ट आन्दोलनका लागि त्याग र न्याय हुन्छ । उहाँलाई स्याबास भनेर फेरि काँधमा बोकेर हिड्ने परिस्थिति बन्छ । देश र आन्दोलनले सम्मान गर्ने परिस्थिति बन्छ ।’
अहिले मुलुकको आवश्यकता एकातिर र काम र भूमिका अर्कोतिर भइराखेको गैरेले जिकिर गरे । यतातर्फ रिभ्यू गर्न सकेनौँ, मूल्याङ्कन गर्न सकेनौँ भने यथास्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने उनले बताए ।






































