काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङ्चुक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यमा सुधार आएको जानकारी दिँदै अब अस्पतालबाट घर फर्किन लागेको बताएका छन् ।
वाङ्चुकले डिस्चार्जपछि सबै भन्दा पहिले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने र त्यसपछि लद्दाख फर्किने योजना रहेको बताएका छन् ।
उनले उपचारमा संलग्न चिकित्सक र अस्पतालका कर्मचारीप्रति विशेष आभार व्यक्त गरेका छन् । गुरुग्रामस्थित मेदान्ता अस्पतालका चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको प्रशंसा गर्दै उनले आफ्नो उपचारमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका हुन् ।
उनले सबै मिलेर गरेको आन्दोलन सफल भएको भन्दै आगामी दिनमा पनि सबै जोडिएर रहने बताएका छन् ।






































