वि.सं.२०८३ जेठ २ शनिवार

प्रयोगकर्ताको गोपनीयता बारे कानुनी विवादमा फस्यो नेटफ्लिक्स

khanepani

काठमाडौँ । ओटीटी प्लेटफर्म नेटफ्लिक्सविरुद्ध प्रयोगकर्तामाथि जासुसी गरेको आरोप लागेपछि अमेरिकामा नयाँ विवाद सुरु भएको छ । अमेरिकाको टेक्सास राज्यमा कम्पनीविरुद्ध मुद्दा दायर भएपछि प्रयोगकर्ताको गोपनीयता र तथ्यांक सुरक्षामाथि गम्भीर प्रश्न उठेको हो ।

टेक्सासका महान्यायाधिवक्ता केन पाक्स्टनले नेटफ्लिक्सले बालबालिका तथा वयस्क प्रयोगकर्ताबाट अनुमति बिना तथ्यांक संकलन गरेको आरोप लगाएका छन् । उनले कम्पनीले प्रयोगकर्तालाई लामो समयसम्म मञ्चमा अड्याइराख्न ‘लत बसाल्ने’ प्रकारका संरचना प्रयोग गरेको दाबी गरेका छन् ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेटफ्लिक्सले प्रयोगकर्ताको हरेक गतिविधि निगरानी गर्दै त्यसबाट ठूलो आर्थिक लाभ लिएको छ । कार्यालयले जारी गरेको विवरणमा नेटफ्लिक्समा हुने हरेक गतिविधि प्रयोगकर्ताबारे जानकारी दिने तथ्यांक बिन्दु बनेको उल्लेख गरिएको छ ।

अदालतमा दायर गरिएको उजुरीमा नेटफ्लिक्स हेर्दै गर्दा नेटफ्लिक्सले पनि तपाईंलाई हेरिरहेको हुन्छ भन्ने उल्लेख गरिएको छ । उजुरीमा कम्पनीले प्रयोगकर्ताले कुन सामग्रीमा क्लिक गरे, कहाँ रोकिए, कति समयसम्म हेरे जस्ता गतिविधिको विस्तृत अभिलेख राखेको आरोप लगाइएको छ ।

मुद्दामा नेटफ्लिक्सले स्वचालित रूपमा अर्को सामग्री चल्ने सुविधा तथा निरन्तर सामग्री देखाइरहने प्रणालीमार्फत प्रयोगकर्तालाई लामो समयसम्म बाँधेर राखेको दाबी गरिएको छ । विशेषगरी बालबालिका र परिवारबाट संकलित तथ्यांकलाई सन् २०२२ देखि व्यावसायिक तथ्यांक बिक्रेतासँग साझेदारी गरेर अर्बौं डलर आम्दानी गरिएको आरोप पनि लगाइएको छ ।

उजुरीमा कम्पनीका पूर्व प्रमुख रीड हस्टिंगसका सन् २०१९ र २०२० का अभिव्यक्तिको पनि उल्लेख गरिएको छ । उनले त्यसबेला नेटफ्लिक्सले प्रयोगकर्ताको तथ्यांक संकलन वा बिक्री नगर्ने बताएका थिए । तर अहिलेको मुद्दामा कम्पनीले आफ्नै प्रतिबद्धता उल्लंघन गरेको दाबी गरिएको छ ।

नेटफ्लिक्सले भने यी सबै आरोप अस्वीकार गरेको छ । कम्पनीका प्रवक्ताले मुद्दा आधारहीन र गलत सूचनामा आधारित रहेको बताएका छन् । साथै कम्पनीले प्रयोगकर्ताको गोपनीयतालाई गम्भीर रूपमा लिने र आफू सञ्चालन भएका सबै स्थानका गोपनीयता तथा तथ्यांक सुरक्षा कानुन पालना गर्ने जनाएको छ ।

टेक्सास प्रशासनले कम्पनीले राज्यको ‘भ्रामक व्यापार अभ्यास ऐन’ उल्लंघन गरेको ठहर गरेको छ । उक्त कानुनले व्यापारिक गतिविधिमा झुटा, भ्रमपूर्ण वा भ्रामक अभ्यास गर्न रोक लगाउँछ ।

महान्यायाधिवक्ताले अदालतसँग टेक्सासका नागरिकबाट भ्रामक तरिकाले संकलन गरिएका सबै तथ्यांक हटाउन आदेश दिन माग गरेका छन् । साथै लक्षित विज्ञापनका लागि प्रयोगकर्ताको तथ्यांक प्रयोग बन्द गर्न र बालबालिकाको खातामा स्वचालित सामग्री चल्ने सुविधा पूर्वनिर्धारित रूपमा बन्द गर्न पनि माग गरिएको छ ।

यो विवाद सामाजिक सञ्जाल तथा डिजिटल मञ्चमा स्वचालित सामग्री चल्ने र अन्तहीन सामग्री स्क्रोल हुने सुविधामाथि विश्वभर आलोचना बढिरहेका बेला सार्वजनिक भएको हो । विज्ञहरूले हालै क्यालिफोर्नियामा दायर गरिएको यस्तै प्रकृतिको मुद्दाले भविष्यमा थप कानुनी कारबाहीको बाटो खोल्न सक्ने बताएका छन् ।

ranechhap